१३ बैशाख २०८१, बिहीबार

विभिन्न जिल्लामा डेंगीको संक्रमण बढ्दो, के हो डेंगी ? यसरी बच्न सकिन्छ

dengeu

के तपाईंलाई ज्वरो आउने, शरीर र आँखा दुख्नेलगायतका समस्या छ ? यस्तो समस्या हुँदा कोभिड नै भएको होला भनेर घरमै आइसोलेसनमा बस्नुभएको छ भने किटजन्य रोगको संक्रमण पनि भएको हुनसक्छ । किनकी पछिल्ला दिनमा संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा डेंगीको संक्रमण बढेको छ ।

नेपालमा पछिल्लो २ महिनामा ९ सय ५६ जनामा डेंगीको संक्रमण देखिएको छ । साउनमा मात्रै ४ सय ५७ जनामा संक्रमण देखिएकोमा सवैभन्दा बढि ललितपुरका १ सय ६४ जना छन् । त्यस्तै रुपन्देहीमा १ सय ६ जनामा डेंगी देखिएको हो ।

पहाडि तथा हिमाली जिल्ला संखुवासभामा ३०, पाल्पामा २४ जना र जुम्लामा ८ जनामा संक्रमण पुष्टी भएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगी भदौ र असोजमा अझै बढ्न सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

जमेको सफा पानीमा बस्ने र दिउँसो मात्र बढी सक्रिय हुने एडिस एजीप्टाइ र र अल्बो पिक्टस जातको लामखुट्टेको टोकाइले हुने डेंगीका कारण नेपालमा सन् २०१९ मा करिब १८ हजार संक्रमित भएका थिए । त्यसबेला ६ जनाको त निधन नै भएको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार डेंगुका ४ प्रकार मध्ये नेपालमा विगतमा बढी देखिएको भाइरस टाइप टु हो । अहिले कुन हो यकिन हुन सकेको छैन । एकै प्रकारको भाइरस दोहोरीएर हुने सम्भावना कम हुन्छ । तर अर्को प्रकारको भाइरस देखिएमा भने जटिल समस्या आउन सक्छ ।

विगतमा तराईमा मात्र देखिने डेंगीको संक्रमण अहिले पहाड तथा हिमाली भेगमा समेत पुगेको छ । यसको खास औषधी छैन । लक्षणअनुसार उपचार गर्ने गरिएको छ । डेंगीको संक्रमण हुन नदिन लामखुट्टेको टोकाइबाट बच्नु नै एक मात्र विकल्प मानिएको छ ।

डेंगी के हो ?
डेंगी लामखुट्टेबाट सर्ने भाइरल संक्रमण वा रोग हो। डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि हुन्छ । डेंगी ज्वरोलाई ब्रेकबोन फिभर पनि भनिन्छ ।

डेंगी एडिस लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । यो संक्रमण फ्लेविविरिडे परिवार- डीईएनवी १, डीईएनवी २ डीईएनवी ३ र डीईएनवी-४ को भाइरसको सेरोटाइपको कारणले हुन्छ।

तर यी भाइरस १० दिनभन्दा बढी बाँच्दैनन् । जब डेंगी संक्रमण गम्भीर हुन्छ, डेंगी रक्तस्रावी ज्वँरो वा हेमोरेजिक ज्वरो वा डीएचएफ हुने जोखिम बढ्छ । यसले अत्यधिक रक्तस्राव भई पीडितको मृत्युसमेत हुन सक्छ।

डीएचएफलाई डेंगीशक सिन्ड्रोम पनि भनिन्छ। अति गम्भीर अवस्थामा तत्काल अस्पताल भर्ना हुन आवश्कय हुन्छ । अन्यथा पीडितको ज्यान पनि जान सक्छ। डेंगीको कुनै खास वा विशेष उपचार उपलब्ध छैन। यसको लक्षण पहिचान गरेर मात्रै यसलाई नियन्त्रण गर्न सकिन्छ।

डेंगीको लक्षण
डेंगी हल्का वा गम्भीर दुवै हुन सक्छ। यस्तो अवस्थामा यसको लक्षण पनि फरक–फरक देखिन्छ । धेरै पटक हल्का डेंगीहुँदा खासगरी बालबालिका र किशोरकिशोरीहरूमा कुनै लक्षण देखिँदैन।

डेंगीको सङ्क्रमण भएको चारदेखि सात दिनभित्रमा हल्का लक्षणहरू देखिन थाल्छन्। यी लक्षणहरूमा उच्च ज्वरोका साथै निम्न लक्षणहरू देखिन सक्छन् :

टाउको दुख्ने
मांसपेशी, हड्डी र जोर्नीहरूमा दुखाइ
उल्टी हुनु
वाकवाकी लाग्नु
आँखा दुख्ने
छालामा दाग देखिनु

गम्भीर अवस्थाहरूमा हेमोरेजिक ज्वरो वा डिएफएच (डेंगी हेमोरेजिक ज्वरो) को विकास हुने जोखिम बढ्छ। यस्तो अवस्थामा रक्तनलीमा क्षति पुग्छ र रगतमा प्लेटलेटको मात्रा कम हुन थाल्छ । यस्तो अवस्थामा निम्न लक्षणहरू देख्न सकिन्छ:

डेंगीका लक्षणहरू देखिएमा के गर्ने ? डेंगीबाट बच्ने उपायहरु
स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने हुन्छ। घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नको लागि प्यारासिटामोल बाहेक बुफिन र एस्पिनजस्ता अन्य औषधिको सेवन गर्नु हुँदैन। अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरून्त भर्ना हुनुपर्छ।

  • चिकित्सकको सल्लाह नलिइकन कुनै पनि औषधि सेवन गर्नु हुँदैन। लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेको ठाउँहरू र पानी राख्ने भाडाहरू खोजी खोजी सफा गरौँ र लामखुट्टेको फुल नष्ट गरौँ।
  • पानी राख्ने भाँडाहरु जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्नेगरी राम्ररी छोपेर राखौं। साथै पानी जम्नसक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्नुपर्छ।
  • कोठाभित्र लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउनुपर्छ। पूरै शरीर डाक्ने लुगा लगाउनुपर्छ।
  • काम नलाग्ने र पानी भरिनसक्ने सामानहरु जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरु पानी जम्न नमिल्ने गरी विसर्जन गर्नुपर्ने हुन्छ।

-घर-विद्यालयको अँध्यारा कुना-काप्चा, जस्तै पर्दा पछाडि, खाटमुनि, शौचालयभित्र, डेस्क बेन्चमुनि आदि ठाउँहरूमा किटनाशक औषधि छर्किनुपर्छ।

  • कम्तिमा हप्ताको एकपटक एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरू राम्ररी सफा गर्नुपर्छ।

-लामखुट्टेले फुल पार्नसक्ने सम्भावित घर र विद्यालयभित्र र वरपरका पानी जम्ने सबै ठाउँहरू र पानी राख्ने भाडाहरु खोजी खोजी सफा गर्नुपर्ने हुन्छ। लामखुट्टेको फुल नष्ट गर्नुपर्छ।


एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्छ। त्यसमाथि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ। दिउँसो पनि लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मह्लम लगाउनुपर्छ।