२ जेष्ठ २०८२, बिहीबार

मेयर बालेन शाहको अर्को एक्सन, नक्सा अनुसार प्रयोग नभएको अण्डरग्राउण्ड भत्काउने तयारी

balen

काठमाडौं महानगरपालिकाले भवनको नक्सापास अनुगमनमा कडा गर्ने भएको छ ।

महानगरपालिकाले भवनको नक्सापास भए अनुसार प्रयोग नभएको पाएमा कारबाही गर्ने तयारी गरेको छ ।

महानगरले जारी गरेको ३५ दिने सूचनाको म्याद आइतबार सकिएसँगै सोमबारदेखि महानगर एक्सनमा उत्रने तयारी गरेको हो ।

साउन १ गते महानगरले ३५ दिने सूचना जारी गरेर घर तथा भवन निर्माण गर्दा पास भएको नक्सा अनुसार अण्डरग्राउण्डलाई प्रयोग गर्न निर्देशन दिएको थियो ।

काठमाडौं महानगरपालिकाले सोमबार बानेश्वर क्षेत्रको अन्डरग्राउण्ड अनुगमन गर्ने काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले बताउनुभयो । महानगरले नक्सा विपरित प्रयोजन हुँदै आएको अन्डरग्राउण्ड, नक्सा पास भएअनुसार नै प्रयोग गर्न ३५ दिन अगाडि सूचना जारी गरेको थियो । सो सूचनामा अटेर गरे कानुन बमोजिम अनुसार कारबाही गर्ने उहाँले बताउनुभयो ।

बानेश्वर क्षेत्रमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर अन्य प्रयोजनामा लगाइएका संरचना भत्काइने मेयर बालेन्द्र साहको सचिवालयले जनाएको छ । सम्भावित तनावको स्थितिलाई नियन्त्रण गर्न महानगरले प्रहरीसँग छलफल समेत गरिसकेको छ ।

बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको बताइएको छ ।