१४ बैशाख २०८१, शुक्रबार

मिटरब्याजको पीडा मधेस प्रदेशमा, विपन्न घरबारविहीन भए

anilrudra money

मिटर ब्याजमा पैसाको कारोबार गर्नेको संख्या बढ्दै गएको छ । चलन चल्तीको भन्दा कैयौँ गुणा बढी ब्याज पर्ने गरी रकम लेनदेन बढ्दै जाँदा समस्यामा पर्नेको संख्या समेत उत्तिकै छ ।

यही कारणले कतिपय घरबारविहीन भएका छन् । कति त घरगाउँ छाडेर भाग्नुपर्ने अवस्थामा पुगेका छन् । मधेस प्रदेशमा अहिले यो ठूलो समस्या बनेको छ ।

शनिबार प्रहरीले महोत्तरीका मिटरब्याजी अनिरुद्ध साहलाई पक्राउ गर्‍यो । ऋण दिएर अवैध रुपमा अनावश्यक रूपमा नगद मात्र होइन जग्गा जमिन र भएभरका सम्पत्ति हडप्ने घटना बाहिर आएपछि प्रहरीले साहलाई नियन्त्रणमा लिएको हो ।

साह मात्र नभई धेरैले विपन्नलाई मिटरब्याजका नाममा ठगिरहेका छन् । ठगी गर्ने साहुको सूचि लामो छ भने ठगिनेको गुनासोको चाङ पनि उत्तिकै छ । धनुषाका सतदेव लाल मुखियाले त मिटरब्याजबापतको रकम तिर्न नसकेर जमिन नै साहुलाई बेचे ।

ऋण लिएको रकमभन्दा बढी रकम तिर्ने कागज बनाएर विपन्नलाई शोषण गर्ने क्रम रोकिएको छैन । उहाँ तेतरीदेवी मुखिया । गोल्हो देवीसँग महिनाको १५ हजार ब्याज तिर्ने गरी २ लाख रुपैयाँ ऋण लिनुभएको थियो । तर पछि कागज भने पाँच लाखको बनाइदिएपछि उहाँले हंसपुर नगरपालिकामा मुद्दा दायर गर्नुभयो ।

ऋणको चर्को ब्याज तिर्नुपर्ने बाध्यता र ब्याज नतिर्दा जग्गा रोक्का गरिएको जस्ता उजुरी लिएर पीडितहरू नगरपालिका पुग्ने गरेका छन् ।

उजुरी लेखिदिन भन्दै आउनेको संख्याले नै मिटरब्याजीका कारण धनुषावासीको समस्यालाई प्रतिबिम्बित गर्दछ ।

मिटरब्याजको धन्दा धनुषा मात्र नभई मधेस प्रदेशकै मुख्य समस्या बन्न पुगेको छ । कानूनी रूपमै फसाएर ब्याजको नाममा अनधिकृत र गैरकानूनी असुली गर्नेलाई कानूनी कारवाही गर्न असमर्थ देखिएको छ ।

मुलुकी देवानी संहिता २०७४ को दफा ४७८ को उपदफा २ मा सयकडा १० प्रतिशतभन्दा बढी ब्याज लिन पाइँदैन । कानूनअनुसार कपाली तमसुक बनाएर १० प्रतिशतभन्दा बढी ब्याज लिनु गैरकानुनी मानिन्छ ।

मुलुकी संहिता २०७५ लागू भएपछि व्यक्तिले ५० हजारभन्दा बढी रकम ऋण लगानी गर्दा स्थानीय जनप्रतिनिधिको रोहबरमा लेनदेन गर्नुपर्ने व्यवस्था छ । तर, कानूनको धज्जी उडाउँदा पनि सरकार मूकदर्शक बन्नुले पीडित थप मर्माहत भएका छन् ।