
नेकपा एकीकृत समाजवादीले मकवानपुरको क्षेत्र नम्बर–२ बाट पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टी क्षेत्र नम्बर २ को शनिबार बसेको बैठकले खतिवडालाई प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउन पार्टी जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरेको हो।
आगामी १० भदौमा बस्ने पार्टी जिल्ला कमिटीको बैठकले खतिवडाको नाम प्रदेश कमिटीमा सिफरिस गर्ने निर्णय गर्ने एकीकृत समाजवादी मकवानपुरका सचिव विष्णु दाहालले जानकारी दिनसभयो ।
आसन्न चुनावका लागि प्रतिनिधिसभा क्षेत्र नम्बर २ को एकीकृत समाजवादीले खतिवडाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
लगातार चार पटक चुनाव उठेर जितेका खतिवडालाई फेरि पार्टीबाट प्रतिनिधिसभामा उम्मेदवार बनाउने निर्णय भएको हो।
खतिवडा २०४८, २०५१, २०५६ र २०७४ सालमा भएको निर्वाचनमा विजयी हुनुभएको थियो ।
यस्तै, समानुपातिकमा केदार न्यौपाने, राजाराम स्याङतान र मुनु सिग्देलको नाम सिफारिस गर्ने निर्णय गरेको छ । राष्ट्रियसभामा भने ललित बस्नेतको नाम सिफारिस गर्ने निर्णय भएको छ।
चुनावमा पार्टीबाट उम्मेदवार हुनेको नाम यही १० भदौभित्र सिफारिस गर्नुपर्ने एकीकृत समाजवादीको केन्द्रिय सर्कुलर छ ।