१८ बैशाख २०८१, मंगलवार

विकास निर्माणमा ढिलासुस्ती नहोस्: वरिष्ठ नेता पौडेल

Ramchandra Poudel
फाइल फोटो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती नगर्न सुझाव दिनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा आज आयोजित सरकारी कार्यालयका प्रमुखहरूसँगको छलफल कार्यक्रममा वरिष्ठ नेता पौडेलले विकास निर्माणका काममा ढिलासुस्ती गर्नेलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले साउन मसान्तभित्र विकास योजनाको ठेक्का सम्झौता गरिसक्नुपर्नेमा जोड दिनुभयो । विकासका कामलाई गुणस्तरीय बनाउन सम्बन्धित कार्यालयको तर्फबाट पटक–पटक अनुगमन गर्न वरिष्ठ नेता पौडेलले आग्रह गर्नुभयो । तनहुँको विकासका लागि बजेटको कुनै कमी नहुने बताउँदै पौडेलले जिल्लाको विकासको जिम्मा आफूले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्लास्थित पूर्वाधार विकास कार्यालय, सडक डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सिँचाइ विकास कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुखहरुले आर्थिक वर्ष ०७८/०७९ मा सम्पन्न भएका कार्यक्रमबारे प्रस्तुती राखेका थिए ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललगायतको सहभागिता थियो ।