 
							नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा एक अनलाइन पत्रिकाको उद्घाटन गर्दै उहाँले इतिहासमै पहिलो पटक नेपालको स्वाधिनता र सार्वभौमिकता खतरामा रहेको बताउनुभएको हो ।
उहाँले सुगौली सन्धी र दिल्ली सम्झौता भन्दापनि खतरनाक बनेर एमसीसी र एसपीपीहरु नेपालमा आइलागेको दाबी गर्नुभयो । उहाँले नेपालमा राजनीतिक अस्थिरता दिनप्रतिदिन गहिरिँदै गएको उल्लेख गर्दै संसदवादी पार्टीहरु देशको नेतृत्व गर्न असफल बन्दै गइरहेको दाबी गर्नुभयो ।
महासचिव चन्दले मन्त्री बन्ने रोलक्रम राणाकालको झैँ भाइभारदारहरु राखेर भइरहेको बताउनुभयो । उहाँले अहिलेका सरकारले पालोपालो मन्त्री हुने, कुम्ल्याउने, लुट्ने, खाने, देशको सम्पती उडाउने र जनतालाई दुःख दिने जस्ता गतिविधिहरु मात्रै गरेको आरोप लगाउनुभयो ।
महासचिव चन्दले नेपालका संसदवादी पार्टीहरुलाई विदेशी साम्राज्यवादीका एजेण्टहरु भएको आरोप लगाउनु भयो । उहाँले अहिलेको सरकार तीन÷तीन महिनामा मन्त्री फेर्ने, देशको ढुकुटी उडाउने, देशलाई बेरुजुमा लगाउने, देशलाई व्यापार घाटामा डुबाउने, देशको अर्थतन्त्रलाई तहसनहस पार्ने, खाने, पैसा लुकाउने, कुम्ल्याउने तर जनताप्रति कुनैपनि उत्तरदायी काम नगर्ने गरेको आरोप लगाउनुभयो ।
 
											 
											 
											 
									 
									 
									