१८ बैशाख २०८१, मंगलवार

फर्किएलान् त अलमुताइरी नेपाल ? विवादपछि के हुने हो भन्ने कौतुहलता फुटबल समर्थकमा !

60fd0b6b409fd coach
फाइल फोटो

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षमा पंकज विक्रम नेम्वाङ निर्वाचित भएसँगै राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको विषयले समेत चर्चा पाएको छ ।

राष्ट्रिय टोली सम्हालेको केही महिनामै भएको विवादपछि यी दुईबीच खासै राम्रो सम्बन्ध छैन । यस्तोमा अलमुताइरीले हालै सार्वजनिक गरेको अभिव्यक्ति पछि अब उनको नेपाल बसाई के हुने हो भन्ने कौतुहलता फुटबल समर्थकमा छ ।

नवनिर्वाचित एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीच १ वर्षदेखि नै सम्बन्ध सुधार हुन सकेको छैन । २०७७ चैतमा पहिलो पटक राष्ट्रिय टोली सम्हाल्न आएका अलमुताइरी ४ महिना पनि बित्न नपाउँदै टोली छोड्ने मनसायमा थिए ।

नेम्वाङकै कारण प्रशिक्षकबाट राजीनामा दिने अवस्था आएको भन्दै अलमुताइरीले सामाजिक सञ्जाल स्टाटस लेखेपछि सुरु भएको विवाद युवा तथा खेलकुद मन्त्रालयसम्म पुग्यो ।

मन्त्रालयले राखेपमार्फत् बनाएको छानविन समितिले प्रशिक्षकले आचरण सुधार गर्नुपर्ने, सम्झौता अनुसार काम गर्नुपर्ने, आन्तरिक विवादको समाधान एन्फाभित्रै खोज्नुपर्ने लगायतका सुझाव दियो । तत्कालका लागि विवाद समाधान भएको जस्तो देखिएपनि यि दुईबीचको सम्बन्धमा सुधार आउन सकेन् ।

निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको विरोधी खेमामा रहेका नेम्वाङ प्रशिक्षकसँगको विवादलाई चुनावी स्टण्टका रुपमा व्याख्या गर्दै आएका थिए । यसबीच अलमुताइरी पटक पटक विवादमा परिरहे ।

नेपालमा राम्रै फ्यान फलोर्स् बनाएका उनी आफ्ना असन्तुष्टि सामाजिक सञ्जाल मार्फत् व्यक्त गरिरहँदा समर्थकको त भरपुर साथ पाए, तर एन्फाभित्र उनको आलोचना तीव्र रुपमा हुन थाल्यो । तर उनको हरेक कदमको बचाउमा थिए शेर्पा । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याएर स्वेदश फर्किएका अलमुताइरीलाई दोस्रो पटक नेपाल फर्काउन शेर्पा कतारसम्म पनि पुगे ।

हरेक पटक अलमुताइरीको बचाउमा लागेका शेर्पाले पछिल्लो पटक राष्ट्रिय टोलीका सिनियर खेलाडीले बन्द प्रशिक्षण छोडेको घटनामा अभिभावकीय जिम्मेवारी त पुरा गर्न सकेनन् नै, उल्टो प्रशिक्षकलाई नै साथ दिए । यही निरन्तरको साथ नै शेर्पाका लागि घातक बनेको चर्चा एन्फा निर्वाचनपछि चल्न थालेको छ ।

अर्कोतर्फ अलमुताइरीले समेत एन्फामा शेर्पा बाहेकसँग काम गर्न नसक्ने उद्घोष नै गरेका थिए । सोमबार सम्पन्न निर्वाचनमा शेर्पा पराजित भएसँगै अलमुताइरीले नेपाल नफर्कने संकेत दिए । सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले नेपाली फुटबलको सुखद् भविष्यको कामना गर्दै हरेक कथाको अन्त्य हुने प्रशंग उल्लेख गरे ।

जसलाई फुटबल समर्थकहरुले उनी नेपाल नर्फिने संकेतका रुपमा बुझिरहेका छन् । एसियन कपको तेस्रो चरणका खेलपछि बिदा लिएर कुवेतमै बसेका उनले त्यो पोस्ट भने स्टोरीबाट हटाइसकेका छन् ।

दोस्रो पटक शेर्पाकै कारण उनी नेपाल आएको बुझाई छ । कतार फुटबल संघ क्युएफएको सहयोगमा दोश्रो पटक नेपाल आएका अलमुताइरीको सम्झौता सन् २०२४ सम्मका लागि छ । तर खेलाडीसँगको विवादपछि गठित समितिले एसिया कप छनोटको खेलपछि क्युएफएसँगको सम्बन्धमा असर नपर्ने गरी अलमुताइरीको विकल्प खोज्न सुझाव समेत दिएको छ ।

यसकारण पनि यसपटक उनी नेपाल फर्किने सम्भावना न्युन रहेको एन्फाभित्र चर्चा छ । अब एन्फाको नयाँ नेतृत्वले यस विषयमा के निर्णय गर्छ त्यो भने हेर्न बाँकी छ ।