
राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्व तयारी एवम् विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपायबारे समुदायस्तरमै सचेतना अभिवृघि गरिनुपर्ने बताएकी छन् ।
राष्ट्रपति भण्डारीले आज सातौँ भूकम्प स्मृति दिवसका अवसरमा जारी गरेको सन्देश विपद्को समयमा अपनाउनुपर्ने सुरक्षात्मक उपाय समुदायस्तरमा पुर्याउन संघीय तथा प्रदेश सरकार र स्थानीय तहको अहम् भूमिका रहेको उल्लेख गरेकी छन् । साथै, उनले यस विषयमा सम्बद्ध सबैको ध्यान आकृष्ट गराएकी छन् ।
गोरखाको बारपाक केन्द्रबिन्दु भइ २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरुमा परी जीवन गुमाउनु हुने दिदीबहिनी तथा दाजुभाइप्रति उनले हार्दिक श्रद्धासुमन व्यक्त गरेकी छन् ।
सन्देशमा भनिएको छ,“नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका पुरातात्विक एवम् ऐतिहासिक सम्पदा, सरकारी तथा सार्वजनिक भवन, शैक्षिक र स्वास्थ्य संस्थाका भवन, निजी आवास, सडक र पुललगायत भौतिक संरचनाहरुको पुनर्निमाण कार्य लगभग सम्पन्न गरिसकेको छ ।”
बाँकी रहेका कामहरु सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट सम्बन्धित निकायहरुलाई हस्तान्तरण भइसरकेको र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलगायत भूकम्प पश्चातको पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यहरुमा सहयोग गर्ने मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरु र स्वयंसेवकहरु सबैलाई राष्ट्रपति भण्डारीले धन्यवाद ज्ञापन गरेकी छन् ।
नेपाल विश्वका अति भूकम्पीय जोखिम भएका मुलुकहरुमध्येमा पर्दछ । हाम्रो देश भूकम्पीय जोखिममा पर्नुका मुख्य कारण भौगोलिक अवस्थिति र बनावट रहेको भए पनि मानव निर्मित कमजोर भौतिक संरचना पनि त्यतिकै जिम्मेवार रहेको छ ।
विपत् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी एवं विपत्पूर्वको सुरक्षात्मक उपायबारेमा सचेतना अभिवृद्धि गर्नुपर्ने भन्दै राष्ट्रपति भण्डारीले यसका लागि सङ्घीय तथा प्रदेश सरकार र स्थानीय तहको भूमिका महत्वपूर्ण हुनेमा जोड दिएकी छन् ।
सुरक्षित जीवनका लागि भूकम्प स्मृति दिवसबाट एकआपसमा मिलेर काम गर्ने प्रेरणा मिल्नेछ भन्दै राष्ट्रपति भण्डारीले पूर्वसुरक्षामा सबैको ध्यान दिनुपर्ने धारणा व्यक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।