१५ बैशाख २०८१, शनिबार

आयोगद्वारा १ करोड ३६ लाख मतपत्र छपाई सम्पन्न

278860005 10160789317576554 3924646320281172853 n 1024x794 1

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि शनिबारसम्म ५८ जिल्लाका लागि १ करोड ३६ लाख मतपत्र छपाई सम्पन्न भएको जनाएको छ । निर्वाचन आउन २० दिन बाँकी रहँदा मतपत्र छपाई तीब्ररुपमा भइरहेको आयोगको भनाई छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलकाअनुसार १ करोड ९४ लाख मतपत्रमध्ये शनिबारसम्म १ करोड ३६ लाख मतपत्र छाप्नेकाम सम्पन्न भएको हो । निर्वाचन सामग्री नियमित रुपमा जिल्लामा पठाउनेक्रम जारी रहेको भएपनि मतपत्र छपाई सम्पन्न भएपछि मात्र पठाउने आयोगले जनाएको छ ।

आयोगद्वारा शनिबार आयोजित विशेष पत्रकार सम्मेलनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दल र उम्मेदवार संख्या धेरै भएकाले मतपत्र पनि विभिन्न थरिको हुने बताउनुभयो । अव मतपत्र छपाई गरेर निर्वाचन गर्न झन्झटिलो हुने भएकाले आगामी दिनमा ईलेक्ट्रिक मेशिनको प्रयोगमा जोड दिनुपर्ने उहाँले दलको ध्यानाकर्षण गराउनुभयो । निर्वाचनको पहिलो चरणको करिब सबै तयारी पूरा भइसकेकाले अव दोस्रो चरणको काम शुरु भएको उहाँले जानकारी दिनुभयो ।

निर्वाचनलाई निश्पक्ष, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन सबैको सहयोग अपरिहार्य रहेको भन्नुहुँदै उहाँले निर्वाचन आचारसंहिता कार्यान्वयनमा ध्यान दिन सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभयो । वैशाख ११ र १२ गते हुने उम्मेदवार मनोनयन दर्ता ऐनमा भएको व्यवस्थाअनुसार हुने भएकाले कुनै दलबीच झडप नहुने विश्वास उहाँले व्यक्त गर्नुभयो । ३० गतेको निर्वाचनका लागि २६ गतेसम्म सबै निर्वाचनसामग्रीसहित टोली सम्बिन्धत ठाउँमा पुगिसक्ने उहाँले जानकारी दिनुभयो ।

निर्वाचन कार्यतालिका अनुसार वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको आयोगले जनाएको छ ।

त्यस्तै, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । यी सबै कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन् ।

निर्वाचनमा चुन्ने र चुनिन पाउने नागरिक अधिकारलाई उच्च सम्मान गर्दै स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा आप्mनो मनोनयनपत्र दर्ता गर्ने आम नागरिकको नैसर्गिक अधिकार सुनिश्चित गर्न आयोग सँधै प्रतिवद्ध रहेको जनाएको छ । कानूनले तोकेको योग्यता पूरा गर्ने सबै मतदाताले आपूmले चाहेको पदमा उम्मेदवारी दिनसक्ने वातावरणको सिर्जना गर्न आयोग सबै राजनीतिक दल, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षा निकाय, नागरिक समाज, आमसञ्चार क्षेत्र लगायत सम्बन्धित सबै सरोकारवालाहरुमा अपिल गरेको छ ।

नेपालको संविधानले निर्वाचनमा लैङ्गिक तथा समावेशी सिद्धान्तलाई आत्मसाथ गरी निर्वाचनका सबै पदहरुमा समावेशी प्रतिनिधित्व हुनुपर्ने व्यवस्थाअनुरुप आयोगले यसअघि नै निर्वाचनमा भाग लिने सबै राजनीतिक दलहरुलाई १७ बुँदै निर्देशन समेत जारी गरिसकेको छ । निर्वाचनमा मुलुकको सामाजिक विविधता प्रतिविम्बित हुनेगरी सहभागिता र प्रतिनिधित्वका लागि आयोगले आग्रह गरेको छ ।

यसैबीच उम्मेदवारहरुले आप्mनो उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गर्न जाँदा निर्वाचन आचारसंहिताले तोके बमोजिमको आचरण पालना गरिदिन आयोग सबैमा अपिल गरेको छ । नियमित पत्रकार सम्मेलनपछि जारी विज्ञप्तीमा आचारसंहिता विपरीत कार्यहरु भए गरेको पाइएमा आयोगले कानून बमोजिम कारवाही गर्ने चेतावनी पनि दिएको छ ।