१२ बैशाख २०८१, बुधबार

गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धनलाई उम्मेद्वार छान्न यस्तो सकस

Gathabandhan 2 768x391 1

पाँच दलीय गठबन्धनले गण्डकी प्रदेशका पालिकामा उम्मेद्वार टुंगो लगाउने प्रयास जारी राखेका छन् । तर दलका नेताहरु सहमति नजिक भने पुग्न सकेका छैनन् ।

कास्की
गण्डकी प्रदेशको एकमात्र महानगर पोखरामा मेयर पद नेकपा एकीकृत समाजवादीले पाउने निर्णय भएसंगै यहाँ विवाद चुलिएको छ । नेपाली कांग्रेसका नेता कार्यकर्ता रुख छाडेर अरु चुनाव चिन्ह लिएर भोटको अपिल गर्न कठिन हुने बताईरहेका छन् । गठबन्धनमा आवद्ध दलका नेताहरु दिनहुँजसो बैठक बस्दै निष्कर्षविहीन हुने शिलशिला चलिरहेको छ ।

तनहुँ
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता गोविन्दराज जोशीको गृह जिल्ला तनहुँमा काँग्रेस बलियो मानिन्छ । यहाँ कांग्रेसले अघिल्लो पटक पाँचवटा पालिकाको प्रमुख–उपप्रमुख दुवै पद र एक–एक स्थानीय तहमा प्रमुख र उपप्रमुख जिते थियो । कांग्रेस आफूले जितेका स्थानीय तह पाउनुपर्ने अडानमा रहँदा सहमति जुट्न सकेको छैन ।

स्याङ्जा
कांग्रेस उपसभापति धनराज गुरुङ, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र एमाले सचिव पद्माकुमारी अर्यालको गृह जिल्ला भएकोले स्याङ्जालाई पनि यो चुनावमा चासोका रुपमा हेरिएको छ । पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङजामा गत निर्वाचनमा जितेका पालिका आफूले पाउनुपर्ने अडानमा कांग्रेस छ । तर कांग्रेसको साथ नपाई जित्न नसक्ने अवस्थामा रहेका माओवादी र समाजवादी पार्टी पनि उम्मेदवारीका लागि हानथापमै छन् ।

म्याग्दी
गठबन्धनमा सहमति जुट्न नसकेपछि म्याग्दीमा गठबन्धनका सबैजसो दलले आफ्ना उम्मेदवार छानेर प्रचार थालिसकेका छन् । पालिकास्तरीय नेताहरु नै गठबन्धनको पक्षमा नदेखिएपछि जिल्ला स्तरीय समन्वय समिति अलमलमा छ ।

गोरखा
गोरखामा कांग्रेसले ७, माओवादीले ५, जनता समाजवादीले २ वटा पालिकामा दावी गरिरहेका छन् । ११ वटा स्थानीय तह रहेको गोरखामा गठबन्धन दलहरुले दावी गरेको पालिका संख्या १४ पुगेको छ । यहाँ पनि गठबन्धनबीच तालमेलको संभावना कम हुँदै गएको आँकलन गर्न कठिन छैन ।

लमजुङ
लमजुङमा केन्द्रको निर्णयलाई लत्याउँदै काँग्रेसले आठवटै स्थानीय तहमा प्रमुख पद आफूहरुले पाउनुपर्ने अडान नछाड्दा गठबन्धनमा सहमति जुट्न नसकेको हो ।

बाग्लुङ
बाग्लुङमा पनि कांग्रेसले अघिल्लो चुनावमा जितेका सबै पालिकामा दाबी गरेको छ । अन्य दल पनि आआफ्नो अडानमा छन् । प्रचार प्रसारमा होमिनुपर्ने बेला उम्मेदवार छनोटको सकसमा दलहरु जेलिएका छन् । यहाँका नेताहरु अब मित्रवत चुनावमा जाने कुरा गर्न थालेका छन् ।

पर्वत
पर्वतमा पनि गठबन्धनका पाँचवटा दल पाँचतर्फ फर्केका छन् । उनीहरुका आ आफ्ना दावी र अडान कायमै छन् । केन्द्रले दिएको निर्देशनमा रहेर वडा तथा पालिका मिलाउने गरी कसरत त भएको छ तर चुच्चे ढुंगो उहि टुंगो भनेझैँ भएको छ यहाँको छलफल ।

नवलपुर
नवलपुरमा सत्तागठबन्धन बीच भागवण्डामा सहमति हुन नसक्दा मनोनयन दर्ताको अघिल्लो दिनसम्म उम्मेद्वार टुङ्गो लगाउन सकेको छैन् । सत्तासिन पाँच दलबीच स्थानीय तह बाँडफाँटमा सहमती हुन नसकेपछि उम्मेद्वारको विषयमा अन्यौल देखिएको छ ।

मनाङ
मनाङमा भने नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचमात्र तालमेल हुने देखिएको छ । अरु दलहरुको उपस्थिति न्यून भएका कारण पनि यहाँ पाँच दलीय गठबन्धनको निर्णयलाई कार्यान्वयन गर्दै दुईवटा दलहरुबीचमा मात्र साझेदारी हुने देखिएको हो ।

मुस्ताङ
मुस्ताङ चुनावी गतिविधि अलि कम चहलपहल हुने ठाउँ मध्येमा पर्छ । मुस्ताङमा ५ वटा स्थानीय तह छन् । यहाँ नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी समेतले स्थानीय तह निर्वाचनमा भाग लिदैँछन् । अन्यत्रको तुलनामा यहाँ केही कम विवाद देखिएको छ ।