१६ चैत्र २०८०, शुक्रबार

कांग्रेस र माओवादीबीच भागबन्डा सिन्धुलीमा: गठबन्धन तोड्ने बाँकी तीन दलको चेतावनी

Gathabandhan 2 768x391 1

सिन्धुलीमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले तीन दललाई बाहिर राखेर चुनावी तालमेल गरेपछि उनीहरूले गठबन्धन तोड्ने चेतावनी दिएका छन् ।

नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन तोड्ने चेतावनी दिएको हो ।

“गठबन्धनभित्र छलफल नै नगरी निर्णय नभएको विषयलाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको बाँडफाँटसमेत गरेको निर्णय सारमा गठबन्धन विरोधी कमद भएको हाम्रो ठहर छ । तसर्थ दुई दलीय सहमति तुरुन्त खारेज गरी पाँच दलीय गठबन्धनको सम्मानजनक सहभागितासहितको सहमति गर्न यथाशीघ्र पहल गर्न हामी जोडदार माग गर्दछौँ,” तीन दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ,“यदि सो निर्णय खारेज गरी सहमतिको प्रयास नभएमा गठबन्धन तोड्न हामी बाध्य हुने यो वक्तव्यमार्फत् सम्बन्धित सबैमा जाकारी गराउँदछौँ ।”

यसअघि, आज बसेको गठबन्धन दलको बैठकले सिन्धुलीका सबै १० स्थानीय तहको प्रमुख र उपप्रमुखको भागबन्डा लगाएको थियो ।

जसअनुसार कमलामाई नगरपालिकाको मेयर नेपाली कांग्रेसले पाएको छ भने उपमेयर नेकपा (माओवादी केन्द्र)ले पाएको छ । यस्तै, दुधौलीको मेयर माओवादी केन्द्रलाई र उपमेयर नेपाल कांग्रेसको भागमा परेको छ ।

तीन पाटन गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ ।

फिकल गाउँपालिकाको अध्यक्ष कांग्रेस र उपाध्यक्ष माओवादीको भागमा परेको छ । गोलनजोर गाउँपालिकाको अध्यक्ष पनि कांग्रेसले र उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ ।

यसैगरी, सुनकोसी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले पाएको छ भने उपाध्यक्ष कांग्रेसको भागमा छ । घ्याङलेक गाउँपालिकामा अध्यक्ष कांग्रेसले पाएको छ भने उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ ।

बैठकले मरिक गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसको भागमा पारेको छ भने उपाध्यक्ष माओवादी केन्द्रलाई दिएको छ । यस्तै, हरिहरपुर गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष नेपाली कांग्रेसले पाएको छ ।