१३ बैशाख २०८१, बिहीबार

जनताले २०६४ मा दिएको बहुमत माओवादीले पचाउन सकेनः प्रचण्ड

prachanda speech
फाइल फोटो

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०६४ सालमा जनताले दिएको बहुमत माओवादीले पचाउन नसकेको बताएका छन् ।

कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४ सालमा जनताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा बहुमत दिए पनि माओवादीले पचाउन नसकेको स्वीकारेका हुन् ।

‘२०६४ सालमा प्रत्यक्षतर्फ माओवादीले बहुमत ल्यायो,’ प्रचण्डले भने, ‘तर, माओवादीले पचाउन सकेन । पखाला लाग्यो ।’ अब जनताको विश्वासलाई माओवादीले गुम्न नदिने भन्दै प्रचण्डले आसन्न निर्वाचनपछि माओवादीले देशको नेतृत्व लिने दाबी गरे ।

बुधबार गठबन्धनका पाँच दलबीच ६ महानगर र ११ उपमहानगरमा भएको भागबन्डाले गठबन्धन भत्काउन खोज्नेहरु आत्तिएको उनको भनाइ छ ।

देशको राजनीति पनि माओवादी केन्द्र वरिपरि घुमिरहेको भन्दै उनले प्रचण्ड व्यक्ति नभएको बताए । सुदूरपश्चिमको तागत र शक्ति लिएर आफू काठमाडौं फर्किने प्रचण्डले बताए ।