७ बैशाख २०८१, शुक्रबार

साथीहरूलाई गाह्रो परिरहेको छ गठबन्धन स्वीकार्न: रमेश लेखक

Ramesh Lekhak
फाइल फोटो

नेपाली कांग्रेसका नेता रमेश लेखक ५ दलीय सहमति कार्यान्वयनको विकल्प नभएको बताएका छन् ।

नेता लेखकले भने, “गठबन्धनमा रहेका ५ राजनीतिक दलहरुले चुनावी तालमेल गरेका छन् । केही ठाउँमा विमति आएको अवस्था छ । हामीकहाँ प्रि-पोल कोलिसनको कल्चर परिपक्व भइकेको छैन । अझ नेपाली कांग्रेसका लागि चुनावभन्दा अगाडि नै तालमेल गर्ने नयाँ अभ्यास हो । गत संसदीय निर्वाचनमा त्यसको अभ्यास भए पनि सफल हुन सकेन ।”

कांग्रेस नेता लेखकले संविधानले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेकाले चुनाव अघि वा पछि गठबन्धन अत्यावश्यक रहेको जिकिर गरे । उनले थपे, “हाम्रो संविधानमा मिश्रित निर्वाचन प्रणाली छ । त्यसैले कुनै दलको बहुमत आउने स्थिति छैन ।

गत निर्वाचनमा एमाले र माओवादीले देशभरि तालमेल गरेकाले बहुमत आएको थियो । चुनाव अघि गर्ने प्रचलन संसारभरि नै छ । चुनावपछि त झन् सरकार बनाउन गठबन्धन गर्नैपर्छ ।

अब निर्णय गरिसकेपछि यसको कार्यान्वयन गर्नुको विकल्प छैन । देशभरि आफ्ना पार्टीका शुभचिन्तकलाई राजनीतिक तालमेल किन आवश्यक छ भन्ने कुरालाई राजनीतिक ओरिन्टेसन गर्दै लैजानु पर्छ ।”

उनले पार्टी कार्यकर्तालाई कारबाही गर्ने भन्दा पनि गठबन्धनको बारे बुझाउनु ठूलो कुरा भएको बताए । उनले थपे, “हामीले चुनावको मुखमा तालमेल गर्दा कतिपय ठाउँमा केही जटिल अवस्था छ ।

गठबन्धनका विपरीत मत राख्ने साथीहरुलाई कारबाहीभन्दा पहिले पार्टीले अपिल गर्छ अनि निर्णय कार्यान्वयन गर्ने प्रयत्न गर्छ । त्यसपछि पनि मान्नुभएन भने पार्टीले आफ्नो निर्णयको ठोस कार्यान्वयनका लागि कारबाही अघि बढाउँछ ।

किनभने गठबन्धनमा इमानदारी प्रदर्शन भएन भने कांग्रेसकै विश्वसनीयतामा प्रश्न उठ्छ । कांग्रेसका सदस्य आधिकारिक उम्मेदवार विरुद्ध उठेमा कारबाही हुनेमा दुबिधा छैन । अर्को पार्टीलाई समर्थन गरे पनि कारबाही हुन्छ ।”

उनले नेपाली कांग्रेसका अधिकांश साथीहरु गठबन्धनको पक्षमा नरहे पनि पार्टीले निर्णय गरेपछि त्यसलाई पालना गर्न प्रतिबद्ध भएको बताए । लेखकले थपे, “गठबन्धन गर्नु हुन्न, एक्लै चुनाव लड्नुपर्छ, निर्वाचन हारे पनि जिते पनि संगठन सुदृढ हुन्छ भन्ने साथीहरुको मत थियो । तर राजनीतिक दलसँग मिलेर गठबन्धन सरकार चलाएकाले पार्टीले त्यस्तो निर्णय गरेपछि पालना गर्नु हाम्रो कर्तव्य हो ।

बाँकी सबै ठाउँमा गठबन्धन हुन्छ भन्न म सक्दिनँ । मिल्ने ठाउँमा तालमेल गर्ने, नमिलेका ठाउँमा प्रतिस्पर्धा गर्ने कुरा आएको छ । यो स्वाभाविक पनि हो ।”