२३ बैशाख २०८१, आईतवार

धनी वर्गलाई पनि राहत दिएको भन्दै विपन्नले राहत बहिष्कार गरे

rahat bahiskar

सर्लाहीको बलरा नगरपालिकाका विपन्नले स्थानीय तहको राहत बहिष्कार गरेका छन् । उनीहरुले धनी वर्गलाई राहत दिएको भन्दै सर्लाहीको बलरा नगरपालिकाका विपन्नले स्थानीय तहको राहत बहिष्कार गरेका हुन् ।

वडा कार्यालयले मंगलबार बिहान राहत वितरण गर्न लाग्दा बिघौं जग्गा हुने जमिनदारदेखि सरकारी जागिरेसमेतलाई राहत उपलब्ध गराउन लागेको भन्दै दलित, गरीब र विपन्नहरुले राहत नलिएका हुन् ।

यो वडामा गरीब, विपन्नमा पर्ने माझी, राम र सदा समुदायको बसोबास छ । दैनिक मजदुरी गरेर छाक टार्दै आएका उनीहरुले हुनेखानेले नै राहत लिइरहेको देखेर आफूले राहत नलिएको स्थानीय रामदेव माझीले बताए । ‘हामीभन्दा विपन्न उनीहरु नै देखिए,’ उनले भने, “त्यहीँ भएर हामीले लिएनौं हाम्रो भागसमेत उनीहरुलाई दिँदा हुन्छ ।’

३ वडाका अधिकांश दैनिक मजदुरी गरेर छाक टार्नुपर्ने बाध्यतामा छन् । हुनेखानेले नै राहत लिइरहेको देखेपछि आफूहरुले राहत बहिष्कार गरेको हो । माझीका अनुसार अधिकांश विपन्नले राहत सामग्री लिएनन् ।

वडा कार्यालयले वडाभित्रका सबै परिवारको नाम राहतको सूचीमा राखेको छ । वडाध्यक्ष सञ्जीव श्रीवास्तवले वडाभरिका सम्पूर्ण परिवारलाई राहत दिने सूचीमा नाम राख्नुपरेको स्वीकारे ।

वडाभित्रका ५५० परिवारलाई नै राहत वितरण गर्न सूची बनाइएको वडा अध्यक्ष श्रीवास्तवले बताए । ‘सुरुमा २६४ जना विपन्न रहेको ठहर गर्दै राहत बितरण गर्न सूची बनायौं,’ उनले भने, ‘त्यसमा विवाद भयो । विवाद भएपछि सबैको नाम राखिदिने निर्णय भयो ।’

यो वडाले प्रतिपरिवार १० किलो चामल र २ किलो नुन मात्रै वितरण गरेको छ । वडाध्यक्ष श्रीवास्तवले नगरपालिका कार्यालयबाट राहत वितरण गर्न पाएको तीन लाखले चामल र नुन खरिद गरी वितरण गरिएको बताए । ‘अरु सामग्री दिन रकम नै पुगेन उनले भने, ‘त्यहीँ भएर दुई वटा सामग्री मात्रै बितरण गरेका हौं ।’

सर्लाहीको बलरा नगरपालिका वडानम्बर ११ ले पनि वडाभित्रका सबै परिवारलाई राहत स्वरुप नगदै वितरण गरेको छ । यो वडाले प्रतिपरिवार ७३५ रुपैयाँका दरले राहत स्वरुप नगद वितरण गरेको छ ।