Close Me
१३ चैत्र २०८१, बिहीबार

पैसामा बिक्ने पार्टी हाेइन एमाले: अध्यक्ष ओली

kp oli pokhara
फाइल फोटो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको बताउनुभएको छ।

स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष ओलीले अनुचित पैसा, अनुचित कारोबार, अनुचित प्रलोभन र अनफेयर खालको कुनै पनि गतिविधिलाई आफ्नो पार्टीले छेउमा पनि पर्न नदिने दाबी गर्नुभयो ।

बुधबार ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीलाई एक युवाले एक मेहनती युवा र ७ करोड रकम दिनेमध्ये कसलाई चुनावमा टिकट दिनुहुन्छ भनि प्रश्न गरेका थिए ।

सोही प्रश्नको जवाफ दिने क्रममा उहाँले एमालेलाई कुनै पनि खालको प्रलोभनमा पार्न सम्भव नभएको प्रतिक्रिया दिनुभयो । अध्यक्ष ओलीले राजनीतिमा सहभागी हुन सबैलाई मैदान खुला रहेको पनि बताउनुभयो । यसमा तोकिएको खेलाडी नहुने हुनाले सबैले भाग लिन पाउने अध्यक्ष ओलीको तर्क थियो ।

अध्यक्ष ओलीले प्रतियुनिट ३४ रुपैयाँ घाटामा भारतसँग विद्युत खरिद गर्नेहरुको फोटोलाई लिएर भोट माग्न हिँडने पार्टीहरु सत्तारुढ गठबन्धनमा रहेको भन्दै कटाक्ष पनि गर्नु भयो । केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो फेसबुक स्टाटसमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङको फोटोसहितको चुनावी प्रचार सामग्री पोष्ट गरेर तत्काल हटाउनुभएको थियो ।

अध्यक्ष ओलीले मुलुकको समृद्धि र विकासमा साथ र सहयोगको अपेक्षासहित आफूले युवाहरुसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको र यसलाई हरेक वर्ष निरन्तरता दिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा युवाहरुले आयात प्रतिस्थापन हुने गरी ठोस कार्यक्रम ल्याउन, संविधानले व्यवस्था गरेको मौलिक हकहरुको कार्यान्वयनमा विशेष ध्यान दिन ओलीलाई आग्रह गरेका थिए ।