१३ बैशाख २०८१, बिहीबार

निकटस्थ बिचौलियाबीचको मिलेमतोमा साढे ४ अर्बका हेलिकोप्टर किन्न अर्थमन्त्रीको स्वीकृति

janardan sharma.jpg1649678840
फाइल फोटो

विदेशी विनिमय सञ्चिति संकटपूर्ण भएको भन्दै निजी गाडी आयातमा रोक लगाएको सरकारले यही बेला ढुकुटीबाट साढे चार अर्ब खर्च गरी दुई हेलिकोप्टर खरिदको प्रक्रिया अघि बढाएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र उनी निकटस्थ बिचौलियाबीचको मिलेमतोमा रुसबाट ‘एमआई–१७ भी ५’ का दुई हेलिकोप्टर किन्न लागिएको हो । ०७४ सालदेखि अर्थ मन्त्रालयमा रोकिएको प्रस्ताव यही आर्थिक संकटमा अघि बढाइएको हो ।

‘रुस र नेपालस्थित बिचौलियाले कमिसनकै लागि ०७४ मा हेलिकोप्टर खरिदको प्रस्ताव ल्याएका थिए,’ यसबारे जानकार अर्थका एक अधिकारीले भने । त्यसैअनुसार सेनाले ०७४ पुस १२ मा रुसी कम्पनी ‘रोजोबोरोनएक्स्पोर्ट’ सँग दुईवटा ‘एमआई–१७ भी ५’ हेलिकोप्टर खरिदका लागि सम्झौता गरेको थियो ।

त्यसबेला रुसी सरकारी कम्पनीका तर्फबाट दूतावासका अधिकारी र नेपालका तर्फबाट सैनिक मुख्यालयका एक प्रतिनिधिबीच सम्झौता भएको थियो । ‘त्यसपछि अर्थमा बजेट माग गरियो । अर्थले बजेटको स्रोत सुनिश्चितता गरिदिएन । फाइल रोकिइदिइराखेको थियो,’ ती अधिकारीले भने, ‘अहिले अर्थमन्त्री शर्माकै अग्रसरतामा त्यो फाइल ब्युँताउने काम भएको हो । अर्थमन्त्रीस्तरीय निर्णय गरेर हेलिकोप्टर खरिद गर्न बजेट दिने निर्णय भइसकेको छ । यसका पछाडि कमिसनको खेल छ ।’

रुसमा निर्मित यी हेलिकोप्टर १६.४ मिलियन अमेरिकी डलरदेखि १८.४ मिलियन अमेरिकी डलरसम्ममा बिक्री हुने गरेका छन् । दुई हेलिकोप्टर खरिदका लागि नेपालले करिब साढे ४ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । हेलिकोप्टर खरिदबिक्री प्रक्रियाका लागि रसियन टोली हाल काठमाडौंमा छ । टोलीले नेपाली सेनाका उच्च अधिकारी र अर्थमन्त्री शर्मासँग शृंखलाबद्ध भेटघाट गरिरहेको छ ।

मंगलबार मात्रै अर्थमन्त्री शर्मा र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटघाट भएको थियो । ‘भेटघाटमा अन्य अधिकारीलाई प्रवेश दिइएको थिएन । भेटमा अर्का एक व्यक्ति पनि थिए, जो नेपाली सेना तथा सरकारी अधिकारी होइनन्,’ अर्थ स्रोत भन्छ । कान्तिपुर दैनिकमा खबर छ ।