७ बैशाख २०८१, शुक्रबार

प्रचण्ड र माधवबीच दरार आएपछि देउवालाई सकस, यसरी भयो भागवण्डा

Deuba Prachand Madhav Nepal
फाइल फोटो

निर्वाचन मिति नजिकिएसँगै उम्मेद्वारको भागवण्डा मिलाउन सत्ता गठबन्धनलाई फलामको चिउरा चपाएसरी भएको छ ।

विशेष गरी नेकपा एकीकृत समाजवादीले आफ्नो औकातभन्दा बढी अपेक्षा गरेपछि गठबन्धन सकसमा परेको हो । तर पनि शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बनाउन सघाएका दलहरुको मन कुडिने अवस्था आउन नदिने दाबी गर्दै आएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले चुनावमा केन्द्रीत भएर विभिन्न अभियान चलाइरहेको अवस्थामा सत्ता गठबन्धन भने भागवण्डा मिलाउनमै व्यस्थ छ ।

पाँच दल नै आ–आफ्नो अडानमा रहेपछि सिट बाँटफाँड मिलाउन गठबन्धनलाई सकस परिरहेको छ । महानगर र उपमहानगरको भागवण्डा केन्द्रबाट मिलाउन सके अन्यमा स्थानीय स्तरबाटै सहमति जुट्ने नेताहरुको विश्वास छ ।

तर स्थानीय स्तरमा पनि आफू बलियो रहेको स्थानमा अन्य दलहरुलाई पेल्ने र गठबन्धन नै नगर्ने अडानमा स्थानीय नेताहरु रहेपछि कालान्तरमा यसको फाइदा प्रतिपक्षी दल नेकपा एमालेलाई पुग्ने देखिन्छ ।

नेकपा एकीकृत समाजवादीको हकमा स्थानीय स्तरमा पार्टीको संगठन बनिनसकेकोले सो दललाई पद दिन काँग्रेस र माओवादीले आनाकानी गरिरहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त समाजवादीले आफ्नो औकातभन्दा बढी अपेक्षा गर्दा समस्या आएको भन्दै सार्वजनिक रुपमा नै असन्तुष्टि जनाएका थिए । यता एकीकृत समाजवादीले भने सिट बाँडफाँडको विषयलाई लिएर देशभर आफ्नो पार्टीलाई अपमानपूर्ण व्यवहार गरिएको आरोप लगाउँदै आएको छ ।

अध्यक्ष माधवकुमार नेपालले अरुको शक्तिको अवमूल्यन गर्ने र अपमानपूर्ण ढंगको व्यवहार गर्ने काम जिल्ला जिल्लामा हुने गरेको रिर्पोट आएको उल्लेख गर्दै सो व्यवहार सैह्य नहुने चेतावनी दिएका छन् ।

मंगलबार काठमाडौंमा नेकपा (गौरवशाली) पार्टीसँग एकताको घोषणा गर्दै उनले आफ्नो पार्टी अपमानको विरुद्धमा विद्रोह गरेर जन्मेको पार्टी भएकाले कुनै पनि खालको अपमान सहन नसकिने बताए । तर प्रधानमन्त्री शेरबहादुर देउवाले भने सत्तारुढ गठबन्धनका दलहरुलाई असन्तुष्ट हुनुपर्ने अवस्था आउन नदिने बताएका छन् । देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नदिइने दाबी गरे ।

उनले नेता तथा कार्यकर्तालाई गठबन्धनको पक्षमा बोल्न आग्रह गर्दै गठबन्धन भएरै कांग्रेसले प्रधानमन्त्री तथा विभिन्न प्रदेशहरुमा मुख्यमन्त्री पाएको जिकिर गरे ।

प्रधानमन्त्री देउवाले नेपालको संविधान अनुसार एउटै पार्टीको बहुमतको सरकार बन्ने सम्भावना नरहेकोले कोही न कोही सँग मिल्नै पर्ने बाध्यता रहेकोे गठबन्धन तीनै तहको निर्वाचनसम्म कायमै रहने बताए । स

त्ता गठबन्धन भागवण्डामै अल्झिँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने असन्तुष्ट नेताहरुलाई लक्षित गरेर पार्टी प्रवेशदेखि निर्वाचन केन्द्रीत कार्यक्रमहरुमा व्यस्थ बनेको छ । साथै साना दलहरुसँग सहकार्य गर्दै उसले सत्ता गठबन्धनलाई चुनौति दिइरहेको छ । निर्वाचन मिति नजिकिएसँगै सत्तापक्ष र प्रतिपक्ष दुबै गठबन्धनसहित एकले अर्कोलाई पत्तासाफ पार्ने रणनीतिमा जुटेका छन् ।