१३ बैशाख २०८१, बिहीबार

छ वटा महानगर र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरेका छौँ : मन्त्री कार्की

Gynandra karki
फाइल फोटो

आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर पालिकाको सिट बाँडफाँटमा सत्ता गठबन्धनलाई सकस परेको छ ।

सोमबार दिनभर बस्दा सहमति हुन नसकेपछि आज दिउँसो तीन बजेदेखि गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको थियो ।

सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

“बैठकमा हरेक कोणबाट विचारहरु आएका छन् सबै सकारत्मक रुपले अघि बढेका छन्” उनले भने, “बैठक जारी छ । छलफल सकारात्मक रुपले अघि बढिरहेको छ । हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं, अहिले बैठक जारी छ ।”

आफूहरु ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरिरहेको उनले बताए ।

“हामीले समग्रमा ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा छलफल गरेका छौँ र अन्तिम निर्णयमा सकारात्मक रुपमा पुग्न लागेका छौँ ।”