
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीको स्थानीय तहको निर्वाचनको घोषणापत्र अध्यक्ष माधव कुमार नेपालले आज सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा एमालेबाट चिढिएर नयाँ पार्टी गठन गर्नुपरेको उल्लेख गरिएको छ ।
घोषणापत्रमा अध्यक्ष नेपालको नेतृत्वको सरकारले गरेका काम र आफ्नो गाउँ आफै बनाऔं जस्ता कार्यक्रमहरु समेटिएको छ ।
वि.सं. २००७, २०४६ र २०६३ का युगान्तकारी परिघटनाहरूलाई समाजवादीले प्रमाणको रुपमा पेश गरेको छ। कम्युनिस्ट पार्टीले सही नीति र कार्यक्रमका आधारमा आपसमा एकता गर्दै अगाडि बढ्दा २०५१ सालमा अल्पमतकै भए पनि नेपालको पहिलो कम्युनिस्ट सरकार निर्माण गर्न सम्भव भएको घोषणापत्रमा समावेश गरिएको छ ।
यसैगरी समाजवादीले वृद्धभत्ता लगायतका सामाजिक सुरक्षाका विभिन्न कार्यक्रम, ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम, भूमिहीन सुकुम्बासीलाई जग्गाको लालपुर्जा वितरणजस्ता जनमुखी कार्यक्रम कार्यान्वयनमा ल्याइएको समेत उल्लेख गरिएको छ।