१३ बैशाख २०८१, बिहीबार

कसैले रोक्न सक्दैन एमालेलाई मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्न: नेम्वाङ

Subash Nemwang
फाइल फोटो

नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्न चाहेको बताएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित शेर्पा भेलामा नेम्वाङले एमालेलाई गलत ढंगले सरकारमा जान हतार नभएको भन्दै जनताको विश्वास जितेर सिंहदरबारमा प्रवेश गर्दै देश र जनताको सेवा गर्न चाहेको बताए ।

उनले एमालेलाई घरको झ्याल र छानाबाट नभएर घरको मूल ढोकाबाट सिंहदरबार प्रवेश गर्न कसैले रोक्न नसक्ने दाबी गरे । नेम्वाङले बहिखाता लिएर जनतामा हिसाब किताब देखाउन एमाले तयार रहेको उल्लेख गरे ।

टर्चलाइट बालेर एमाले खोज्नुपर्छ भन्नेहरुलाई आगामी निर्वाचनमा जनताले सजाय दिने उनको भनाइ छ । उनले आगामी निर्वाचनमा एमालेको नभइ आफ्नै पार्टीको विरुद्धमा लाग्नेहरुको बाक्सा खाली गर्ने धारणा राखे ।

त्यस्तै, एमाले उपाध्यक्ष विष्णु पौडेलले विभिन्न बहानामा सरकारले स्थानीय निर्वाचन सार्न खोजिरहेको आरोप लगाए । गठबन्धन आपसी विवादमा फसेकाले पनि निर्वाचन टार्न र सार्न चाहिरहेको उनको भनाइ छ । पौडेलले निर्वाचन सार्ने दुष्कर्म गरिए जनस्तरको कडा प्रतिवादको सामना गर्नुपर्ने चेतावनी दिए ।

उनले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमाले एक्लैले ६० प्रतिशतभन्दा माथि जित हासिल गर्ने लक्ष्यका साथ अघि बढेको धारणा राखे ।