१० जेष्ठ २०७९, मंगलवार

पर्यटकलाई नगदै बोकेर आउन त्रिविकाे आग्रह

Kathmandu Airport
फाइल फोटो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ ।

विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै अराइभल भिसा लिने पर्यटकहरूलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरेकाे हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकहरूलाई भिसा शुल्क बुझाउन सजिलोका लागि विदेशी मुद्रा बोकेर आउन आग्रह गरेकाे बताए ।

उनले भने “सफ्ट्वेयरले काम नगर्दा अनअराइभल भिसा लिने पर्यटकलाई तीनदेखि चार घण्टा लाइन बस्नुपरेको छ, मैले अध्यागमन विभागका प्रमुखलाई भनेर पर्यटकको सहायताका लागि नगद ल्याउन सूचना निकाल्न आग्रह गरेको थिए, अहिले सूचना प्रकाशन भएको हो ।”

अध्यागमन कार्यालयले निकालेको सूचनामा अहिले नेपाल आउने पर्यटकको सङ्ख्या धेरै रहेको र विमानस्थलमा एउटा मात्र एटिएम मेसिन रहेकाले विद्युतीय कारोबारका अरु माध्ययममा पनि प्राविधिक समस्या आउने गरेकाले भीडभाड तथा झण्झटबाट जोगिनका लागि नगदै नै बोकेर आउन भनिएको छ ।