नेपालको बाटो प्रयोग गरी लागुऔषध कारोबार हुने गरेको तथ्य नौलो छैन । तर दक्षिण अमेरिकी देश र अफ्रिकाबाट कोकिनजस्तो महँगो लागुऔषध बोकेर नेपाल प्रवेश गर्ने शृंखला भने स्वाभाविक देखिएको छैन । एक सातामा फरक-फरक देशबाट कोकिन बोकेर आउने चारजना काठमाडौंमा पक्राउ पर्नुले अन्तर्राष्ट्रिय विमानस्थललाई कति सजिलो रुट बनाइरहेका छन् प्रस्ट पारेको छ ।
जेठ २७ गते फ्लाई दुबईको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । सबै यात्रु विमानस्थलको सुरक्षा जाँच पास गरेर बाहिरिए । ती मध्येका एक ठमेलस्थित होटलतिर लागे । उनी थिए- इथियोपियाबाट दुबई हुँदै आएका ६८ वर्षीय ज्याक्सन अम्बुगा । जसले पेटमा ल्याएका थिए लागुऔषधका ७७ वटा क्याप्सुल अर्थात् एक किलो कोकिन । इथियोपियादेखि नेपालसम्मको ९ घण्टाको उडान गरेर आएका उनलाई लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गर्यो ।
एउटा अपरेसन पूरा गरेर अनुसन्धान अगाडि बढाएको लागुऔषध नियन्त्रण ब्युरोकै लागि दुई दिनपछि अर्थात् जेठ ३० गते अर्को सूचना थियो । ब्राजिलबाट दुबई हुँदै आएकी बोलिभियन महिला लुराको साथको झोला कपडाले भरिएको थियो । उनी पनि विमानस्थल पार गरेपछि पक्राउ परेकी हुन् ।
लुराले बोकेर आएको कपडाको टाँक लागुऔषध कोकिनले नै भरिएको थियो । त्यसबाट दुई किलो कोकिन निकालेको हो । एक सातामा लागुऔषध बोकेर आउनेहरु यति मात्रै थिएनन् । असार १ गते भेनेजुयलाका सिमोन एन्टोनियो नेपाल आइपुगे । सिमोनले पनि पेटमै राखेर एक किलो १९८ ग्राम अर्थात् ९२ वटा क्याप्सुल ल्याएका थिए । एक सातामै लागुऔषध कोकिन बोकेर तीन समूहले नेपालको विमानस्थल प्रयोग गरेको विगतमा कमै रहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब उपरीक्षक प्रेम शाही बताउनुहुन्छ ।
ब्युरोका प्रमुख दिनेश आचार्यका अनुसार नेपाल आउन तयार भएको अर्को एक समूह भने ब्राजिलमै पक्राउ परेको थियो । तर बोलिभियन महिला लुरा भने ब्राजिलबाट दुबई विमानस्थलको सुरक्षा घेरा कसरी पार भएर नेपाल आइपुगिन् भने प्रश्न उठेको छ ।
एक सातामै कोकिन बोक्ने तीन फरक-फरक देशका नागरिक प्रयोग गर्ने कारोबारीले नेपालको विमानस्थललाई सुरक्षित रुट मान्नु स्वाभाविक देखिएको छैन । नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा व्यक्तिको शरीर स्क्यान गर्न सक्ने उपकरण छैन । त्यति मात्र नभएर नेपालको सहज भिसा प्रणालीको समेत दुरुपयोग गरी कारोबारीहरुले नेपालको विमानस्थल प्रयोग गरी लागुऔषध भारत पुर्याउन खोजेको देखिन्छ ।
पछिल्लो चार वर्षमा ४४ किलो कोकिन नेपालमै बरामद भएको छ । सबै विमानस्थलबाटै भित्रिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रणालीलाई सुन तस्करीदेखि लागुऔषध कारोबारीसम्मले थपिरहेको चुनौतीको सामना गर्ने रणनीति कहिले बनाउने ?