१३ बैशाख २०८१, बिहीबार

दीपकराज गिरीको प्रदर्शकलाई कडा प्रश्न–‘नैतिकता प्रदर्शन गर्नुहोस्, कोटा लागे के गर्नुहुन्छ ?

dipak raj giri

नेपाली चलचित्र ‘ए मेरो हजुर ४’ हलमा राम्रो चल्दा चल्दै पनि केही हलहरुले यसको शोमा कटौती गरे । नेपाली चलचित्रले राम्रो व्यापार गर्दा गर्दै शो कटौती गरेर उनीहरुले साउथको हिन्दी डब चलचित्रलाई दिए । यसले, प्रदर्शकहरुको चर्को आलोचना भैरहेको छ ।

चलचित्रका निर्माता, कलाकारदेखि आम चलचित्रकर्मीले यसको चर्को विरोध पनि गरिरहेका छन् । अब, कलाकार तथा निर्माता दीपकराज गिरीले पनि प्रदर्शकहरुलाई नैतिकता प्रदर्शन गर्न चेतावनी दिएका छन् । उनले लेखेका छन्–‘केजीएफ पनि चलाउ, पैसा मज्जाले कमाउ । तर, नेपाली चलचित्रलाई दिएको थोरै शो त नघटाउ । क्यूएफएक्स लगायतका केही हलहरुले न्याय गरेको देखियो । तर, केही हलहरुले भने बदमासी गरेको मज्जाले देखिएको छ । तपाइहरुलाई भोलीका दिनमा स्वदेशी उत्पादनमा अनिवार्य कोटा भनेर प्रतिशत तोकियो भने कति गाह्रो पर्छ होला ? जुन संभावना पनि छ ।’

उनले, ‘केजीएफ २’ले आगो बालेको कुरा सही भएको भन्दै हुँदै नभएको नियम आफै बनाएर रातीको शो राखेर पैसा कमाएको भन्दै कमाउन भनेका छन् । तर, नेपाली चलचित्र राम्रै चलिरहेको भने त्यो शो पनि किन घटाउनुहुन्छ भनेर प्रश्न गरेका छन् । उनले लेखेका छन्–‘अलिकता नैतिकता प्रदर्शन गरौं । नेपाली ब्रान्ड बिदेशीको तुलानामा कमजोर होलानु तर अशक्त छैन । हाम्रा आफ्नै दर्शक छन् । तिनिहरुको पनि सम्मान गरिदिनुहोला ।’

नेपालका केही प्रदर्शकहरुले नैतिकता प्रदर्शन नगरीरहेको समयमा दीपकले नैतिकता प्रदर्शन गर्न आग्रह गरेका छन् ।