१५ चैत्र २०८०, बिहीबार

क्षमताभन्दा धेरै सिट खोज्नेसँग सहकार्य हुँदैन : महामन्त्री शर्मा

Bishow prakash sharma
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार तालमेल गर्ने बताएका छन् ।

नेपाली कांग्रेस ठोरी–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा महामन्त्री शर्माले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्थानीयस्थिति र आवश्यकतालाई हेरेर तालमेल गर्ने बताए ।

“संविधान रक्षा गर्ने दलहरुसँग कांग्रेसले स्थानीय आवश्यकतालाई हेरेर तालमेल गर्छ, आगामी स्थानीय तहको निर्वाचनपछि कांग्रेस मुलुकको पहिलो शक्तिका रुपमा उदाउँछ,” उनले भने । उनले गठबन्धनमा आफ्नो क्षमताभन्दा धेरै सिट खोज्ने दलसँग सहकार्य नहुने स्पष्ट पारे ।

महामन्त्री शर्माले कांग्रेस कमजोर शक्ति नभएको बताउँदै आगामी तीन ओटा सरकार कांग्रेसले चलाउने गरी कांग्रेस अगाडि बढ्ने बताए । उनले कांग्रेस भाषणभन्दा काममा लाग्ने बताउँदै आगामी निर्वाचनमा काठमाडौँ महानगरपालिकामा कांग्रेसले जित्ने बताए ।

देश विकासको नेतृत्व कांग्रेसले गरेको बताउँदै महामन्त्री शर्माले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे जनतामा छरिएको भ्रम चिर्नु जरुरी रहेको बताए ।