१६ चैत्र २०८०, शुक्रबार

केन्द्रमा सहमति, जिल्लामा तोडिँदै

gathabandhan

नेपाली कांग्रेसको नेतृत्वको सत्तारुढ पाँच दलीय गठबन्धन गर्ने बारेमा केन्द्रमा सहमति भए पनि जिल्लाहरूमा तोडिने क्रम सुरु भएको छ । विगतमा निर्वाचन जितेका स्थानमा सोही पार्टीले उम्मेदवारी दिने तर एमालेसहित अन्य दलले जितेका स्थानमा भने भागबन्डा गर्ने मोटामोटी सहमति बाहिरिएलगत्तै गठबन्धनमा समस्या देखा पर्ने क्रम सुरु हुन थालेको हो ।

भरतपुर महानगरपालिकामा मेयर पुनः नेकपा (माओवादी केन्द्र)ले पाउने भएपछि कांग्रेसका जनप्रतिनिधिद्वारा बिद्रोहको चेतावनी, पर्सा कांग्रेसद्वारा गठबन्धन नगर्ने निर्णय सार्वजनिक, बाँकेमा जनता समाजवादी पार्टी बाँकेमा गठबन्धनवाट बाहिरिएको घोषणा, डोल्पामा सहमति नहुँदा अलग अलग निर्वाचनमा जाने निर्णयको तहमा पुगेका छन् ।

रोल्पा र रुकुममा कांग्रेस र नेकपा (एकीकृत समाजवादी)ले धेरै भागबन्डा खोजेको भन्दै माओवादीको असन्तुष्टि र सङ्खुवासभामा गठबन्धनबाट कांग्रेस बाहिरिएको घोषणालगायतको दृश्यले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णयलाई स्थानीय तहले मन नपराएको देखिन्छ ।

प्रचण्डको गृहनगर भरतपुरमा कांग्रेस–माओवादी संघर्ष
स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रीय निर्णय आउनुअघि र आएपछि पनि चितवनस्थित भरतपुर महानगरपालिका चर्चाको शिखरमा छ । नेकपा एमालेले भरतपुर महानगपालिकाका लागि प्रदेश सांसद विजय सुवेदीलाई उम्मेदवार बनाउने निर्णय गरिसक्दा पनि पाँच दलीय गठबन्धनले अझै साझा उम्मेदवार तय गर्न सकेको छैनन् ।

केन्द्रीय निर्णयअनुसार भरतपुरमा माओवादी केन्द्रको भागमा परेपछि मुख्यतः कांग्रेस जनप्रतिनिधिहरुले आपत्ति जनाउँदै आएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले भरतपुर पुनः माओवादीलाई दिने निर्णय लिन खोजेपछि कांग्रेस जिल्ला कमिटी नै काठमाडौँमा ‘डेलिगेसन’ आएर आपत्ति जनाएको थियो भने सो निर्णयपछि पनि वडा नम्बर १९ का सभापति आसमान तामाङको अध्यक्षतामा गत मंगलबार जिल्ला पार्टी कार्यालय कमलनगरमा बसेको वडा सभापतिको बैठकले केन्द्रीय निर्णयको विरोध गर्दै माओवादी केन्द्रलाई दिएको खण्डमा मेयर, उपमेयरसहित सबै वडामा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

‘वडा सभापतिको संयुक्त निर्णयविपरीत गठबन्धन गरिएमा भरतपुर महानगरमा मेयर, उपमेयर र सबै वडामा अध्यक्षसहितका उम्मेदवार खडा गर्ने निर्णय भइसकेको छ, हामी तयारीमा जुटिसक्यौँ,’ तामाङले निर्णयपछि भन्दै आएका छन । उनका अनुसार बैठकको सो निर्णय केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरणसमेत गरिसकेका छन् ।

गत निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन हुदाँ भरतपुरबाट माओवादीकी रेणु दाहाल बिजयी भएकी थिइन् ।

पर्सा कांग्रेसको निर्णयः गठबन्धन मान्दैनौँ, एक्लै लड्छौँ
पर्सा कांग्रेसले गठबन्धन नमान्ने र एक्लै निर्वाचनमा जाने निर्णय नै गरिसकेको छ । केन्द्रीय निर्णयअनुसार जसपा नेपालको भागमा परेको वीरगञ्ज महानगरपालिका स्वीकार गर्न नसकिने भन्दै पर्साका १४ ओटै स्थानिय तहमा एक्लै चुनाव लडने जिल्ला कंग्रेसले ३० चैतमा औपचारिक निर्णय नै गरिसकेका छन् ।

नेपाली कांग्रेस वीरगञ्ज महानगर समिति सभापति मनिन्द्रलाल श्रेष्ठ, क्षेत्र नम्बर १ का सभापति अरविन्दकुमार गुप्ता, प्रदेशसभा क्षेत्र नम्बर १ का र २ का सभापतिहरूले पत्रकार सम्मेलन नै गरेर गठबन्धन अस्वीकार गर्ने घोषणा गरेका हुन् । गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा वीरगञ्ज महानगरका ३२ ओटै वडाबाट गठबन्धनको विपक्षमा सुझाव आएको महानगर सभापति मनिन्द्रलाल श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘जिल्लामा रहेका वीरगञ्ज महानगरपालिकासहित सबै १४ ओटा पालिकामा नेपाली कांग्रेसले अन्य दलसँग निर्वाचनमा गठबन्धन नगर्ने निर्णय भएको छ,’ जिल्ला उपसभापति रामनारायण कुर्मीले भने, ‘नेपाली कांग्रेसले सबै स्थानीय तहका सबै पदमा बिना गठबन्धन एक्लै चुनाव लड्ने निर्णय गरेको छ ।’

जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीको सभापतित्वमा सम्पन्न सो बैठकमा केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, निवर्तमान पर्सा सभापति अजयकुमार द्विवेदी, पूर्वसभापति राजेन्द्रबहादुर अमात्य, मधेस प्रदेशका मन्त्री ओमप्रकाश शर्मालगायतको उपस्थित रहेको सो बैठकले निर्णय गरेको थियो ।

डोल्पाः गठबन्धन गर्न नसकिने निर्णय गर्दै केन्द्रलाई पत्र
काठमाडौँबाट पाँच दलीय गठबन्धन बनाउन निर्देशन दिएपनि डोल्पामा भने गठबन्धन नगरी अलग–अलग निर्वाचन लडने निर्णय नै गरिएको छ ।

कांग्रेस पार्टी सभापति तथा जिल्ला स्तरीय संयन्त्रका संयोजक दिपेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले गठबन्धन गर्न नसकिने भन्दै केन्द्रीय कार्यालयलाई जानकारी गराउने निर्णय नै गरेको छ ।

रौतहटः माधव नेपालको गृहनगरमा कांग्रेस विपक्षमा
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको चन्द्रपुरमा कांग्रेसले गठबन्धन नगर्ने निर्णय लिएको छ ।

नगर सभापित मुकेश गिरीको सभापतित्वमा बसेको बैठकले कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने र एक्लै निर्वाचनमा लडने निर्णय लिएको हो । जसअनुसार भावी नगरप्रमुखका लागि चन्द्रपुरवाट कांग्रेसले १२ जना आंकक्षीको नाम सार्वजनिक गरिसकेको सभापति गिरीले जानकारी दिएका छन ।

सङ्खुवासभाः चार दिनसम्म पनि सहमति भएन
खाँदबारीमा चार दिनसम्म बसेको पाँच दलीय गठबन्धनले कुनै निष्कर्ष निकाल्न नसकेपछि गठबन्धन टुटेको कांग्रेस सभापति दिपक खडकाले घोषणा गरेका छन् ।

चार दिनसम्म बसेको बैठकमा दलहरूले दावी नछाडेपछि माओवादी केन्द्र छलफलको प्रक्रियाबाट नै बाहिरिए पछि सङ्खुवासभामा गठबन्धनको सम्भावना टरेको हो ।

बाँकेः गठबन्धन छाडेर जसपा एक्लै निर्वाचनमा
नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेसले दाबी नछाडेपछि जसपा गठबन्धनबाट बाहिरिएको छ । एमालेले पशुपतिदयाल मिश्रलाई नेपालगञ्जको भावी मेयरको उम्मेदवार घोषणा गरिसक्दा पनि गठबन्धनभित्रका दलहरु मुख्यतः कांग्रेस र समाजवादीले दाबी गरेपछि गठबन्धनमा समस्या देखा परेको हो ।

जसपा नेपालका जिल्ला अध्यक्ष कमरुद्धिन राईका अनुसार नेपालगञ्ज जसपालाई छुट्टाएर एमालेले जितेका स्थानीय तहमा भागबन्डा गरेर जाने प्रस्तावलाई कांग्रेसले अस्वीकार गरेपछि गठबन्धनवाट बाहिरिनु परेको हो ।

मोरङः विरानटनगर कांग्रेसलाई दिए जसपाले अस्वीकार गर्ने
मोरङका १७ मध्ये नेपाली कांग्रेस एक्लैले विरानटनगर महानगरपालिकासहित १० स्थानीय तहको नेतृत्वमा दाबी गरेपछि पाँच दलीय गठबन्धनमा भागबन्डा टुंग्याउन निकै सकस परेको छ । यसअघि कांग्रेसले विजयी हासिल गरेको विराटनगर महानगरपालिकाको भावी नेतृत्वका लागि कांग्रेस र जसपा दुवैले दाबी गरिरहेका छन् । कांग्रेस र जसपा जसले पाए पनि स्थानीय तहमा एउटा दल भने विद्रोहमा निस्कने लगभग देखिएको छ ।

उता, मोरङका १७ ओटा स्थानिय तहमध्ये कांग्रेसले १० ओटा, माओवादी केन्द्रले ६ ओटा नेकपा एस र जसपा नेपालले ४–४ स्थानीय तहमा दाबी गरेपछि गठबन्धनमा सकस भएको छ । कांग्रेसले अत्याधिक स्थानीय तहमा दाबी गरेपछि माओवादी केन्द्र र नेकपा एसले अलग्गै गठबन्धन बनाएर जाने सम्भावना देखिएको स्थानीय नेताहरुले बताएका छन् ।

केन्द्रमा निर्णय गरे पनि स्थानीय तहमा गठबन्धन गराउन सकस देखा परेपछि कांग्रेसले आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । अपरान्ह २ बजे बस्ने बैठकले ११ ओटा उपमहानगरपालिका र ६ ओटा महानगरपालिकाको भागबन्डा र भावी नेतृत्वका लागि आवाश्यक निर्णय लिदैँछ भने चितवन पुगेका माओवादी अध्यक्ष प्रचण्डले भरतपुरको मेयरका बारेमा चाँडै निर्णय हुने घोषणा गरेका छन् ।