१४ बैशाख २०८१, शुक्रबार

आइतबारसम्म स्थानीय तहको तालमेलको टुंगो लगाउँछौँ : प्रचण्ड

Prachanda chitwan

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुंगो भोलिसम्ममा लागिसक्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुने बताए । उनले भने,“आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुंगामा पुग्छौँ ।”

निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए ।

उनले भरतपुर महानगरको नेतृत्व कसले लिने भन्नेबारे विवाद नरहेको पनि दाबी गरे । “चुनावका बेला एउटै पार्टीभित्र पनि विवाद हुन्छ,” उनले भने, “तर सहमतिमा नै अघि बढ्नुको विकल्प छैन ।” स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकरात्मक छलफल भइरहेको उनको भनाइ थियो ।

नवलपरासीको दलदलेमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनी भरतपुर आइपुगेका हुन् ।