६ बैशाख २०८१, बिहीबार

खुलेर मनाए दुई वर्षपछि नेपालीले नयाँ वर्ष

new year

आजबाट २०७९ साल सुरु भएको छ । गत दुई वर्ष कोरोनाका कारणले मनाउन नसकिएको नयाँ बर्ष यस पटक भने नेपालीले खुलेर मनाएका छन् ।

नेपाल मात्र एउटा यस्तो देश हो, जसले विक्रम संवत्लाई आधार मानेर नयाँ वर्ष मनाउने गर्छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गरेसँगै नेपाली नयाँ वर्ष अर्थात् विक्रम संवत् २०७९ साल सुरु भएको छ ।

बाह्र राशी मध्यको अन्तिम राशी मीनमा रहेको सूर्य, पहिलो मेष राशीमा आगमन गरेसँगै विक्रम संवत्को प्रारम्भ हुने गर्छ । धार्मिक होस् वा प्राकृतिक सबै हिसाबले नयाँपनको महसुस गराउने यो समयले साच्चै नै केही नयाँ संकेत गरेको भान हुन्छ । सुख्खा र उजाड देखिने पाखा पखेरोमा नयाँ पालुवा पलाएसँगै देखिने मनोरम दृश्यले पनि नयाँपनको आभाष दिने गर्छ ।

नयाँ वर्षका दिन जे सुरु गर्याे त्यही कार्य वर्षभरि हुने जन विश्वाश रहेकाले हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता र असफलताको मूल्याङ्कन गरी आफ्नो योजना निर्माण एवं सङ्कल्प गर्दछन् । बिहानै मन्दिरमा गएर पूजा पाठ र वर्षभरी गर्ने आफ्नो कार्य–सफलताको कामना गरिन्छ । तर, समय अनुसार नै नयाँ वर्ष मनाउने तौरतरिका पनि फेरिदैँ गएको छ ।

पहिलेपहिले मठमन्दिरमा गएर पूजाआरधना गरेर मनाउने गरे पनि अहिले भने आफ्नै परिवारसँग महल, पिकनिक वा कतै गएर मनाउने गरेको पाइन्छ । हरेक क्षेत्रमा झै नेपाली नयाँ वर्षमा पनि पश्चिमा संस्कृतिको प्रभाव परेको कतिपयको बुझाई छ ।

गत दुई वर्ष कोरोनाका कारणले खुलस्त रुपमा मनाउन नपाएको नयाँ वर्ष यस वर्ष भने भव्य रुपमा मनाइएको काठमाडौँको हरेक स्थानमा भएको भीडभाडबाट प्रष्ट देखिन्थ्यो । सपीडङ महल, चलचित्र हल, बाल उद्यानमा देखिएको उल्लेख्य चापले पनि नयाँ वर्ष सुरु भएको सन्देश दिएको छ । लामो समयपछि यसरी नयाँ वर्ष मनाउन पाउँदा सर्वसाधारण पनि खुशी देखिन्छन् ।

नयाँ वर्षको अवसरमा पूर्व राजादेखि हाल देशका उच्च ओहोदामा बसेका र शीर्षस्थ नेताहरुले नयाँ वर्षको शुुभकामना दिइरहदा नागरिक भने खुशी देखिदैनन् । नेपाली राजनीतिज्ञ देखि निराश बनेका जनता अब चै नेताले आफ्नो स्वार्थ त्यागी देश र जनताको हितमा काम गर्न सुझाव दिन्छन् ।

विगतका वर्षमा झै यस वर्ष पनि क्यालेण्डर मात्र नफेरियोस्, देश र आम नेपालीको दैनिक जीवन पनि सकारात्मक तवरले अघि बढोस्, हाम्रो पनि नयाँ वर्ष २०७९ को हार्दिक मंगलमय शुभकामाना ।