१६ चैत्र २०८०, शुक्रबार

निर्वाचन सम्बन्धमा अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन आयोगको आग्रह

nepal elecion commison

निर्वाचन आयोगले राजनीतिक दल र दलका जिम्मेवार नेतालाई निर्वाचन सम्बन्धमा अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन आग्रह गरेको छ ।

आज निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारीहरू अन्तिम चरणमा पुगेको अवस्थामा निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएको प्रति आयोगको ध्यानाकर्षण भएको र निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने त्यस्ता खालका अभिव्यक्ति नदिन सबैलाई आयोगले आग्रह गरेको हो ।

आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । साथै दैनिक सरदर ८ लाख थान मतपत्र छपाई कार्य भइरहेको शर्माले बताउनु भयो ।

स्थानीय तह निर्वाचन, २०७९ को पर्यवेक्षण गर्नका लागि विभिन्न ६५ वटा राष्ट्रिय संस्थाबाट २० हजार ४६७ जनाले विद्युतीय माध्यमबाट निवेदन दिएकोमा निवेदन उपर जाँचबुझ गरी यथाशीघ्र आयोगले पर्यवेक्षण अनुमति सम्बन्धी निर्णय गर्ने समेत शर्माले बताउनुभयो । पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिई पर्यवेक्षण अनुमतिका लागि गत चैत १३ गते सूचना प्रकाशित गरिएको थियो ।

निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका प्रमुखका लागि ‘निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रादेशिक प्रशिक्षण’ विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा सम्पन्न भएको प्रवक्ता शर्माले बताउनुभयो । यस्तै प्रशिक्षण कार्यक्रम जनकपुर, हेटौडा, बुटवल र धनगढीमा वैशाख २ गते हुने र प्रशिक्षणपछि सोही स्थानबाट निर्वाचन अधिकृतहरूलाई नियुक्ति पत्र र आवश्यक सामग्री उपलब्ध गराइने समेत प्रवक्ता शर्माले बताउनुभयो ।

साथै निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरण कायम गर्न, निर्वाचन आचारसंहिताको कार्यान्वयनमा योगदान पुर्‍याउने हेतुले गत चैत २९ गते प्रदेश १ को विराटनगर, गण्डकी प्रदेशको पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।