१२ बैशाख २०८१, बुधबार

आक्रमण तीव्र बनाएका बेला अमेरिकाद्वारा युक्रेनलाई थप सहयोगको घोषणा

Biden

१ बैशाख २०७९, बिहीबार । अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेको छ । पूर्वी युक्रेनमा रुसले आक्रमण तीव्र बनाएका बेला अमेरिकाले थप सहयोगको घोषणा गरेको हो ।

सहयोगमा नयाँ अस्त्रहरू पनि रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनुभएको छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ठूलो सङ्ख्यामा अस्त्र उपलब्ध गराउन अपिल गरेका थियो ।

प्रतिबद्धता जनाइएको ८० करोड अमेरिकी डलर बराबरका अस्त्रमा गोलीगठ्ठा र राडार प्रणाली पनि रहेका बीबीसीले जनाएको छ । त्यसबाहेक सयौँ क्षेप्यास्त्र र विशेष प्रकारका ड्रोनहरू पनि रहेका छन् ।

यसैबीच रुसी सैनिक पानीजहाजमा विस्फोटबाट क्षति भएको छ । रुसको रक्षा मन्त्रालयले ब्ल्याक सीमामा विस्फोटक पदार्थ भण्डारण गरी तैनाथ एउटा सैन्य पानीजहाजमा आगलागी र विस्फोटबाट क्षति भएको जनाएको छ ।

पानीजहाजको चालकदलका सदस्यलाई उद्धार गरिएको र आगलागीको कारणबारे अनुसन्धान भइरहेको मस्कोले जनाएको छ । रुसको आक्रमण भने आज ५० औं दिन हो ।