१६ चैत्र २०८०, शुक्रबार

८० प्रतिशत एमालेमा ‘इमानदार’ कम्युनिस्ट छन्, तिनको पनि नेतृत्व हामीले गर्नुछः प्रचण्ड

prachanda

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) मा ८० प्रतिशत ‘इमानदार’ कम्युनिस्टहरू रहेको बताएका छन् । बिहीबार खुमलटारमा आयोजित ‘माओवादी ध्रुवीकरण र एकता कार्यक्रम’मा उनले नेतृत्वले उनीहरूलाई बन्दी बनाएर राखेको आरोप लगाए ।

“एमालेभित्र सबै खराब छन् भन्ने होइन । त्यहाँ पनि ८० प्रतिशतभन्दा बढी इमानदार कम्युनिस्ट छन् । क्रान्ति भइदिए हुन्थ्यो भन्ने चाहना राख्नेहरू छन् । तर, नेतृत्व चाबीजस्तो हो । नेतृत्वले यति भ्रम दिएर राखेको छ, तिनीहरूलाई बन्दी बनाएर राखेजस्तो लाग्छ,” प्रचण्डले भने ।

प्रचण्डले एमालेभित्रका कम्युनिस्टहरू प्रतिक्रान्तिकारी, प्रतिगमनकारी प्रवृत्ति र नेतृत्वको बन्दी बन्न बाध्य भएको र त्यसबाट मुक्त गरेर उनीहरूको नेतृत्व आफूहरूले गर्नुपर्ने बताए । “एमालेभित्रका कम्युनिस्टहरू प्रतिक्रान्तिकारी, प्रतिगमनकारी प्रवृत्ति र नेतृत्वको बन्दी बन्न बाध्य भएका छन् । हामीले तिनलाई मुक्त गर्नुछ । तिनको पनि नेतृत्व हामीले गर्नुछ,” प्रचण्डले भने ।