१४ बैशाख २०८१, शुक्रबार

नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट: लिङ्देन

Rajendra Ligden

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेता र काला व्यापारीहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले वीरगञ्जमा आयोजना गरेको आभसभामा बोल्दै अध्यक्ष लिङ्देनले बैंकमा नोट नहुनुको कारण नेताहरु र काला व्यापारीहरुले घरमा थन्क्याउनु भएको बताए । नेताहरुले कमिसन र भ्रष्टाचारबाट कमाएको पैसा बैंकमा राख्दा आम्दानीको स्रोत खुलाउनुपर्ने भएकाले घरमै थन्क्याएको उनले जिकिर गरे ।

नेताहरुले घरमा नोट थन्क्याएका कारण देशमा आर्थिक संकट आएको उनले बताए । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा जनताले राप्रपालाई मत दिएमा घर–घरमा थन्किएका नोटलाई काजगमा परिणत गरिदिने बताए ।

“देशलाई अर्थतन्त्रको हिसाबले कहाँ पुर्याए, बैंकमा पैसा छैन आज । यो खतरनाक कुरा हो । सामन्य कुरा होइन । बैंकमा नोट नहुने कुरा के हो ? कहाँ गयो त नोट? नोट त छापिएको थियो नि त । त्यो त भारतमा गएर कहीँ बसेको छैन । कतै गएर अड्किएको छैन । त्यो नोट कहाँ गयो ? नोट कहाँ गयो ? नेताहरुको घरमा । कमिसनको नाममा । भ्रष्टाचारको नाममा विभिन्न हिसाबले गरेर कमाएको पैसा बैंकमा लगेर राख्दा त आम्दानीको स्रोत देखाउनुपर्यो,” उनले भने, “एकचोटी राप्रपालाई सहयोग गर्नुस् त, राजेन्द्र लिङ्देनजस्तो मान्छेहरुलाई र त्यो पार्टीलाई सहयोग गर्नुस् त । यिनीहरुको नोट घर–घरमै कागजको खोस्टो बनाइदिन्छौँ हामी । एकचोटी सहयोग गर्नुस् ।”

उनले कांग्रेस, एमाले, माओवादी र मधेसवादी दललाई मत दिएर देश बन्नु भनेको दुधका लागि साँढेको टाङमुनि बाल्टिन थाप्नुजस्तै भएको टिप्पणी गरे ।