१५ चैत्र २०८०, बिहीबार

विश्वविद्यालयको मेसमा मासु खाएको विषयमा झडप, कयौँ घाइते

JNU

जवाहरलाल नेहरू विश्वविद्यालयमा वाम विद्यार्थी संगठन आइसा र हिन्दू विद्यार्थी संगठन एबीभीपीले एकअर्कामाथि आक्रमणको आरोप लगाएका छन् ।

विश्वविद्यालयको मेसमा मांसाहारी खानालाई लिएर विद्यार्थी संगठनहरूबीच झडप भएको बताइएको छ । वाम विद्यार्थी संगठनहरूका अनुसार एबीभीपी कार्यकर्ताहरूले विश्वविद्यालयको कावेरी होस्टेलको मेसमा मांसाहारी खानाको विरोध गरिरहेका थिए।

विद्यार्थी संगठन अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) को तर्फबाट गरिएको ट्वीटमा एबीभीपी कार्यकर्ताको हमलामा कयौँ विद्यार्थी घाइते भएको दाबी गरिएको छ ।

बीबीसीको समाचार अनुसार घटनास्थलमा प्रहरी पनि पुगेको थियो । विद्यार्थी संगठनहरुले प्रहरीमा उजुरी दिएको बताएका छन् । यद्यपी यसबारे प्रहरीले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

यसैबीच, एबीभीपीबाट जारी ट्वीटमा वाम विद्यार्थी संघको आक्रमणमा उनीहरूको कार्यकर्ता रविराज गम्भीर घाइते भएको जानकारी दिइएको छ। अर्कोतर्फ, जेएनयू विद्यार्थी संघका अध्यक्ष आईसी घोषले ट्विटरमा भिडियो पोस्ट गर्दै एबीभीपीका विद्यार्थीहरूले जेएनयूमा बस्ने विद्यार्थीहरूलाई मांसाहारी खाना खानबाट रोक्न खोजेको दाबी गरे।

उनले छात्रावासको मेस सचिवलाई पनि एबीभीपीले आक्रमण गरेको दाबी गरेकी छन् । जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थी सङ्गठनहरू विगतमा पटक पटक झडप भएका छन् । यसपटक विद्यार्थी संगठनबीचको द्वन्द्वको कारण मासु बनेको छ ।

राष्ट्रिय राजधानी दिल्लीमा अवस्थित जवाहरलाल नेहरु विश्वविद्यालय भारतमा उच्च शिक्षाको लागि उत्कृष्टताको केन्द्र हो। यस विश्वविद्यालयमा वाम र दक्षिणपन्थी विचारधाराका विद्यार्थीहरूबीच झडप भइरहन्छ । एजेन्सी