७ बैशाख २०८१, शुक्रबार

एक महिने अभियान सफल: नेपाली काँग्रेस

Prakash saran mahat
फाइल फोटो

नेपाली काँग्रेसले गत फागुन २९ गतेदेखि सुरु गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सफल भएको जनाएको छ ।

एक महिने अभियान देशका सातै प्रदेश, ७७ जिल्ला, ७५३ पालिका र सबै वडामा उत्साहका साथ व्यापक जनसहभागितामा सञ्चालन भएर सफलताका साथ सम्पन्न भएको काँग्रेसले जनाएको छ ।

अभियानका उपलब्धिबारे जानकारी दिन आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा प्रकाश शरण महतले पार्टीभित्र एकता र ऊर्जा अभिवृद्धि गराउन अभियान सार्थक भएको बताउनुभयो ।

प्रवक्ता महतले काँग्रेसको १४औँ महाधिवेशनका बेलाको प्रतिस्पर्धाले सिर्जना गरेको आपसी मतभेदलाई मेटाउँदै अभियान अन्तर्गत सबै तहका नेता कार्यकर्ता मतदाताको घरघरमा पुगेको जानकारी दिनुभयो ।

एमसीसीका सन्दर्भमा फैलाइएका भ्रम र अफवाहलाई चिर्न अभियान सफल भएको प्रवक्ता महतले जानकारी दिनुभयो ।

प्रवक्ता डा. महतले राष्ट्र तथा जनताको हित, लोकतान्त्रिक पद्धतिको संरक्षण र संवर्द्धन तथा पार्टीको हितलाई केन्द्रमा राखेर आवश्यकताका आधारमा छिट्टै तालमेलको निर्णय हुने पनि बताउनुभयो ।