१५ चैत्र २०८०, बिहीबार

अनियमितताको आरोपमा शिक्षक र कर्मचारीविरुद्ध अख्तियारद्वारा मुद्दा दर्ता

ciaa

परीक्षामा अनुपस्थित आफ्नो छोरालाई उत्तीर्ण गराउने शिक्षकदेखि बङ्गरको तौलँदा तौल कम गर्ने कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

शिक्षकविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाका चन्दननाथ प्राथमिक विद्यालयमा कार्यरत शिक्षक कलानन्द माझी, कर्णाली माध्यमिक विद्यालयका केन्द्राध्यक्ष मिनराज शर्मा, प्रभात शाही र शेखर माझीउपर मङ्गलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीकाअनुसार शिक्षक माझीले परीक्षा केन्द्रमा छोरा परीक्षार्थी शेखर माझीलाई उपस्थित नगराई हाजिरीमा उपस्थिति देखाएको भन्ने उजुरी परेको थियो । त्यस विषयमा आयोगले अनुसन्धान गर्दा सोही विद्यालयमा कार्यरत तत्कालीन शिक्षक माझीले विज्ञान संकायतर्फ कक्षा ११ मा अध्ययनरत छोरा माझीलाई राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरबाट लिइएको परीक्षामा सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरसहितको कन्ट्रोल लिस्ट गैरकानूनी तरिकाले थपघट गरेको अभियोग आयोगले लगाएको छ ।

२०७५ वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म जुम्लाको कर्णाली माध्यमिक विद्यालयमा सञ्चालित परीक्षामा अंग्रेजी र फिजिक्स विषय उत्तीर्ण गराउन सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरसहितको कन्ट्रोल लिस्ट गैरकानूनी तरिकाले थपघट गरिएको आयोगको भनाइ छ । गैरकानूनीरुपमा सो नम्बर सच्याइ उत्तीर्ण गरिसकेको प्रभात शाही उल्लेख गरी पुनः अर्को कन्ट्रोल लिस्ट बनाई कसूर गरिएको आयोगको दाबी छ ।

यसैगरी, केन्द्राध्यक्ष शर्माले पनि निज माझीसँग मिलेमतोमा एकै सिम्बोल नम्बर र रजिष्ट्रेशन नम्बरमा शाही र माझी उल्लेख भएको दुईवटा कन्ट्रोल लिस्ट बुझी माझीले दिनुपर्ने परीक्षा शाहीले दिएको पूर्व जानकारी हुँदाहुँदै केन्द्राध्यक्षको दायित्व एवम् जिम्मेवारी पूरा नगरेको आरोप पुष्टि भएको आयोगले जनाएको छ ।

रकम हिनामिना

सुनसरी हरिनगरास्थित चपडाही आधारभूत विद्यालयका प्रधानाध्यापकविरुद्ध विद्यालयको विभिन्न शीर्षकको रकम हिनामिना गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएको छ । यस विषयमा आयोगले अनुसन्धान गर्दा प्राथमिक विद्यालय नरसिंह –५, सुनसरीका पूर्व प्रधानाध्यापक सिद्धिनाथ लाल दास र महावीर प्राथमिक विद्यालय, साविक बबिया गाउँ विकास समिति ९ सुनसरीका तत्कालीन राहत शिक्षक एवम् प्रधानाध्यापक मनोजकुमार चौधरीले तारणीप्रसाद खतिवडासँग मिलेमतो गरेको पाइएको छ ।

जिल्ला शिक्षा कार्यालय सुनसरी इनरुवाको लेटरप्याड, छाप तथा दस्तखत किर्तेगरी हेरफेर गर्नुका साथै राष्ट्रिय बैंक लिमिटेड, शाखा कार्यालयबाट दस्तखत नमुना कार्ड परिवर्तन भएको आयोगको भनाइ छ ।

चपडाही निमाविको बैंक खाता नम्बरमा साविकको खाता सञ्चालक प्रधानाध्यापक र शिक्षिकाको सट्टामा अर्को प्रधानाध्यापक र शिक्षकको नामबाट उक्त खाता सञ्चालन गरी पाँच लाख ६० हजार रुपियाँ रकम निकाली हिनामिना गरेको आयोगको ठहर छ ।

आयोगले प्रतिवादीहरु दास र चौधरीउपर प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम आयोगले काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ । यसैगरी, आफ्नो ओहोदाको कर्तव्य पालना गर्दा सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरेकाले प्रतिवादी खतिवडा पनि सो कसूरको मतियार भएको आयोगको दाबी छ ।

सार्वजनिक सम्पत्ति हिनामिना

सुनसरीको तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रअन्तर्गतको बंगुर अनुसन्धान इकाईका प्रमुख रामदेव पण्डित, सहायक कर्मचारीहरु सकुन्तला राई, प्रकाशकुमार यादवउपर पनि आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । सो अन्तर्गत अनियमितता गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको भन्ने उजुरी निवेदन परेको थियो ।

त्यससम्बन्धमा अनुसन्धान हुँदा बंगुर बेच्नका लागि प्रयोग हुने ‘कुलिङ कार्ड’ मा हस्ताक्षर गर्ने अन्य कर्मचारी लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजवंशी, स्टोर प्रमुख तथा प्रशासन प्रमुख कृष्णप्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरिकृष्ण श्रेष्ठको मिलेमतो रहेको आयोगको भनाई छ । बंगुर बिक्री गर्दा हुनुपर्ने औसत र न्यूनतम तौलभन्दा पनि कम देखाई बिक्री गरी सात लाख रुपियाँ हिनामिना गरी आफूलाई फाइदा र नेपाल सरकारलाई नोक्सानी गरेको देखिन आएको आयोगको दाबी छ ।