६ बैशाख २०८१, बिहीबार

ठाउँठाउँका खाली जग्गा भूमाफियाको कब्जामा छ : प्रधानमन्त्री देउवा

pm deuba 1
फाइल फोटो

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँको खाली जग्गा भूमाफियाहरुको कब्जामा रहेको बताएका छन् ।

मंगलबार सहरी विकास मन्त्रालयले काठमाडौँमा आयोजना गरेका ‘राष्ट्रिय सहरी नीति, सहरी विकास ऐन र युटिलिटी करिडोर ऐन तर्जुमासम्बन्धी परामर्श गोष्ठी’लाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् ।

“भूमाफियाहरुले जथाभावी ठाउँठाउँमा जग्गा हडप्दै गएका छन् । कसरी गरेका छन् पनि थाहा छैन । भोलि काठमाडौँमा खाली ठाउँ नै हुने छैन । यसमा पनि ध्यान दिनुपर्छ,” उनले भने, “खाली ठाउँ सबै आफ्नो नाममा गरेका छन् । यसमा पनि सहरी मन्त्रालय, गृह मन्त्रालयले सबै मिलेर काठमाडौँका खाली ठाउँहरुलाई जोगाउन ध्यान दिनुपर्छ ।”

उनले काठमाडौँका खाली ठाउँहरुमा भूमाफियाहरुले आफ्नो नाममा लिने काम भइरहेको भन्दै यसमा सचेत भएर काम गर्नुपर्ने बताए । यसलाई नियन्त्रण गर्न नसके भविष्यमा काठमाडौँमा खाली ठाउँ नहुनेसमेत ठोकुवा गरे ।

विश्वका अत्याधिक गतिमा सहरीकरण भइरहेका देशमा नेपाल पनि एक रहेको प्रधानमन्त्री देउवाले बताए । आर्थिक, सामाजिक र राजनीतिक विकासका साथै देशको समग्र विकासमा सहरीकरणको भूमिका रहेको उनको भनाइ छ ।

नेपाल व्यवस्थित सहरीकरणका लागि दोस्रो पञ्चवर्षीय योजनादेखि प्रयास गर्दै आएको भए पनि नेपालका सहरहरु अपेक्षित विकास हुन नसकेको उनले बताए । व्यवस्थित, सफा र नयाँ सहरको विकास गर्ने र सँगै विद्यमान पुराना सहरहरुमा आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्नेमा उनको जोड छ ।