२१ बैशाख २०८१, शुक्रबार

मेलम्चीको पानी मंगलबार सुरुङबाट काठमाडौंतर्फ पठाइयो, पानी उपलब्ध गराउन दुई साता लाग्नसक्ने अनुमान

melamchi 1

मेलम्ची नदीको पानी मंगलबार सुरुङबाट काठमाडौंतर्फ पठाइएको छ ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले मंगलबार १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गर्नुभएको हो । पानी पठाउन मंगलबार सुरु गरिए पनि काठमाडौँमा पानी उपलब्ध गराउन भने अझै दुई साता लाग्नसक्ने बताइएको छ ।

गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । गत वैशाखमा मेलम्चीको १७ करोड लिटर पानी राजधानीमा वितरण गरिएको थियो ।

परीक्षणका लागि असार मसान्तबाट मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै अर्थात गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्ध बनेको थियो ।