७ बैशाख २०८१, शुक्रबार

आसन्न निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन आग्रह

rupandehi bahas

आसन्न स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन आग्रह गरिएको छ ।

सिर्जनशील संस्था नेपालको आयोजना तथा सञ्चारिका समूह रुपन्देहीको समन्वयमा आज बुटवलमा आयोजना गरिएको ‘आगामी निर्वाचनमा महिला सहभागिता, उम्मेदवारदेखि मतदाता’ विषयक बहस कार्यक्रमका सहभागीले दबाबबिना महिलाले मतदान दिने र मुख्य पदमा समेत उम्मेदवारी दिने पाउने वातावरण सुनिश्चित गर्न माग गर्नुभयो ।

विभिन्न राजनीतिक दलले उम्मेदवारी छनोट गर्दा महिलालाई कम प्राथमिकता दिने गरेको गुनासो गर्दै सहभागीहरूले यो निर्वाचनमा क्षमतावान् महिलालाई स्थान दिने कुरामा कन्जुस्याइँ नगर्न दलहरूलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले महिलाले अवसर पाए जस्तोसुकै जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने प्रमाणित भएको बताउनुभयो । आवाज उठाएकै कारण पद पाउँदिन कि भन्ने सोच नराख्न आग्रह गर्दै दलहरूले सबैलाई समावेश गरेर जानुपर्ने धारणा उहाँले राख्नुभयो ।

लुम्बिनी प्रदेशका कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले पार्टीमा बार्गेनिङ क्षमता बढाउन महिलाहरूलाई आग्रह गर्नुभयो । “महिला सहभागिताका विषयमा राजनीतिक पार्टीले पुनः विचार गर्नुपर्छ, महिलाहरूले पनि जिम्मेवारी नपाए मत हाल्दा विचार गर्छौँ भन्न सक्नुपर्छ”, सचिव थापाले भन्नुभयो ।

सञ्चारिका समूह रुपन्देहीका सल्लाहकार इन्दिरा अर्यालले महिला नेतृत्वमा जाँदा गुटबन्दी र बदलाको भावना कम हुने भएकाले अध्ययनशील र सङ्घर्षशीललाई अवसर प्रदान गर्न राजनीतिक दलका प्रमुखलाई आग्रह गर्नुभयो ।

अधिकारकर्मी अधिवक्ता इन्दिरा आचार्यले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता जरुरी रहेकामा जोड दिनुभयो । आरक्षणलाई समेत खुम्च्याउने काम भएको जनाउँदै उहाँले संवैधानिक व्यवस्था कार्यान्वयनमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।

ब्लु डायमन्ड सोसाइटीका प्रतिनिधि आनिक रानाले यौनिक तथा अल्पसङ्ख्यक समुदायलाई सधैँ पछाडि पार्ने काम भएकाले अब सबैको पहिचान र अस्तित्व स्वीकार गर्ने वातावरण निर्माण हुन आवश्यक रहेकामा जोड दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का रुपन्देही अध्यक्ष निर्मल जिसीले पार्टीमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न नीति बनाइएको जानकारी गराउँदै आगामी दिनमा महिला सहभागिता अझै बढाउन भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष हरि अर्यालले नेतृत्वमा महिला सहभागिता बढ्दै गएको जनाउँदै इच्छाशक्ति, तत्परता र सामर्थ्य भएका महिलाले अवसर पाउने धारणा राख्नुभयो ।

नेकपा (एकीकृत समाजवादी)का उपसचिव सरिता श्रीसले महिला अधिकारका कुरा गर्दा हाम्रो हैसियत माग्नेमै सीमित रहेको बताउनुभयो ।

कार्यक्रममा सिर्जनशील संस्था नेपालका अध्यक्ष प्रतिमा शर्मा, महासचिव बिजु पौडेल, सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतम, लुम्बिनी सामुदायिक टेलिभिजनका समाचार प्रमुख भगवती पाण्डे, रीता केसी, मञ्जु भुसाल लगायतले सरकारमा सहभागी दलहरूबिच आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनको तयारी भइरहँदा यसअघिको निर्वाचनबाट स्थानीय तहमा बनेको महिला उपस्थिति कम हुने आशङ्का व्यक्त गर्दै यसो हुन नदिन दलहरूलाई आग्रह गर्नुभयो ।