१३ जेष्ठ २०७९, शुक्रबार

तल्लो तहमा निल्नु न ओकल्नु गठबन्धन !

gathabandhan

पाँच दलीय मोर्चासहित गठबन्धन बनेको झण्डै डेढ बर्ष पुग्यो भने त्यही गठबन्धनले सत्ता सम्हालेको नौ महिना पुग्न थाल्यो । तर गठबन्धन र सत्ता परिवर्तनको औचित्य पुष्टि भएन । बरु भागबण्डा र मोलमोलाईमै गठबन्धनको गतिविधि सीमित बनेको छ ।

यथार्थमा गठबन्धन कहाँ छ र केका लागि छ ? सुन्दा सामान्य लाग्न सक्छ तर प्रश्न निकै गम्भीर छ । किनकि यसको महत्वबारे सत्तासीन दलहरुले जति दरिलो गफ दिइरहेका छन्, त्यसभित्र निहित स्वार्थभन्दा अरु केही देखिदैन ।

प्रधानमन्त्री शेरबहादुर देउवा तीनै तहको निर्वाचनपछि पनि आफू पुनः प्रधानमन्त्री हुने कुरालाई अहिलेदेखि नै सुनिश्चित गर्न चाहन्छन् । त्यसका लागि गठबन्धन उनको महत्वको विषय बनेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि गठबन्धन कालो बादलभित्र चाँदीको घेरा हो । किनकि एक्लै चुनावमा गए जनाधारले लत्याउने सम्भावना छ, गठबन्धनसँग गए माओवादीको साख जोगिन सक्छ ।

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका लागि त झन् जीवन–मरणको प्रश्न छ । किनकि यही चुनावबाट पार्टीको अस्तित्व रहनेकि विसर्जन हुने भविष्यको निर्धारण हुनेछ । यसै कारण आन्तरिक मोलमोलाई, आशंका र अलमल नै गठबन्धनको विशेषता बनेको छ ।

पहिलो उपलब्धी केपी ओली नेतृत्वको सरकारलाई ढाल्नु बनाएको गठबन्धनमा दोस्रो उपलब्धी भनेको जनआकांक्षा विपरित एमसीसी पारित गर्नुमात्रै बन्यो । त्यसबाहेक साझा सहमतिका साथ टुंग्याएको अर्काे कुनै विषय छैन, जसले देशको हित गरोस् ।

चुनावी तालमेलसहित स्थानीय तहको निर्वाचनमा जाने सहमति भयो, तर कसरी र किन जाने औचित्य पुष्टि हुन सकिरहेको छैन । बरु अहिले आएर ज्वाँईलाई राजदूत, भाईलाई सांसद र गैरसांसदलाई मन्त्री बनाएर लोकतन्त्रका नाममा खराब राजनीतिको दुसचक्र चलाउने काम भएको छ ।

सरकारमा जाने र भागबण्डा खाने काम गरेको गठबन्धनले मन्त्रीहरुलाई समेत लगाम लगाउन सकेन । करोडौंका हिसावकितावमा मन्त्रीका नाम जोडिदा फिटिक्कै फरक परेको छैन । अर्थ संकटको समाधानका लागि न कुनै बहस, न कुनै उपाय निकाल्न सकियो । बरु कमजोरी लुकाउन गभर्नरमाथि प्रहार गरियो ।

कमिटी नै बनाएर समाधान खोज्ने भनिएपनि प्रधानमन्त्रीदेखि सत्तासीन दलको नेतृत्व स्वार्थ समूहकै प्रभावले तै चुप मै चुपको अवस्थामा छ । मन्त्रीमण्डल फेरबदलको रस्साकस्सी चलाएर भागबण्डाकै कुरामा अड्किएको गठबन्धन शिथिल बनेको छ । केन्द्रमा देउवा, प्रचण्ड र माधव भेटिदा गठबन्धन गरिएको आभाष हुन्छ, तल्लो तहमा निल्नु न ओकल्नु छ ।

हिजो ओली सत्तामा रहँदा राज्यको स्रोत साधनको दूरुपयोग गर्न नपाएको छट्पटी गठबन्धनका नेताहरुलाई थियो भन्ने पुष्टि अहिलेका गतिविधिले देखाएको छ । तर जनतालाई ओलीभन्दा फरक गरेर देखाउँछौ भनेको वाचा नै यतिवेला लाजले घुम्टो ओड्न बाध्य छ । किनकि ओली गए, देउवा आए । नेतृत्व फेरियो, कार्यशैली फेरिएन । अनि ‘जुन जोगी आए नी कानै चिरिएको भनेझैँ’ जनताले सरकारको परिवर्तनको आभाष नै गर्न पाएनन् ।