१६ चैत्र २०८०, शुक्रबार

पहिलो दिनमै एक दर्जन बढीको नाम संकलन कांग्रेस चितवनमा, भरतपुर महानगर मेयरका आकांक्षी

nepali congress

नेपाली कांग्रेस चितवनले भरतपुर महानगरको मेयर र उपमेयरका लागि आकांक्षीहरुको नाम संकलन गरेको छ ।

दुई दिनसम्म नाम दर्ता गर्ने मौका दिएकोमा आज पहिलो दिनमा नै १३ जना नेताले मेयरमा र १३ जनाले उपमेयरमा नाम दर्ता गरेका हुन् ।

कांग्रेसको केन्द्रीय निर्देशन र जिल्लाको परिपत्र अनुसार आज र भोलि मनोनयन दर्ता गर्ने समय तोकिएको कांग्रेस महानगरका सभापति चित्रसेन अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । आज आइतबार बिहान ११ बजेबाट सुरु भएको मनोनयनमा साँझसम्म १३ जनाले मेयर पदका लागि आकांक्षा देखाएका हुन् । भोलि सोमबार साँझसम्म यो संख्या बढेर २० जनासम्म पुग्नसक्ने कांग्रेस स्रोतको अनुमान छ ।

कांग्रेस भरतपुर महानगरका उपसभापति बुद्धिकान्त न्यौपानेका अनुसार आइतबार भएको मनोनयन दर्तामा मेयर पदमा मनोनयन दर्ता गराउनेमा भरत अधिकारी, शंकरप्रसाद कँडेल, तारानाथ पौडेल, उत्तम जोशी, चित्रसेन अधिकारी, जगन्नाथ पौडेल, रामप्रसाद अधिकारी, विजय शर्मा भुसाल, दिनेश कोइराला, पार्वती शाह ठकुरी, दीर्घमान श्रेष्ठ, निलकण्ठ शर्मा रिजाल र गौरी कुमारी श्रेष्ठ रहेका छन् ।

यस्तै, उपमेयर पदमा तारा गुरुङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरु कार्की, कल्पना पौडेल, देबेन्द्र गुरुङ, टंकनाथ पौडेल, पुर्णबहादुर गुरुङ र राजिब न्यौपानेले मनोनयन दर्ता गराएको उपाध्यक्ष न्यौपानेले बताए । न्यौपानेले भने, ‘महानगरको मेयर कांग्रेसले नपाउने भन्ने छैन । पाउने निश्चित नै हो ।’

२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले माओवादीसँग गठबन्धन गरेर भरतपुर महानगरको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई जिताएको थियो । सत्ता गठवन्धनमा रहेका कांग्रेस र माओवादी बीच यसपटक पनि महानगरपालिकामा गठबन्धन हुने र भरतपुर माओवादीले लिने चर्चा चलेपछि कांग्रेसका जिल्ला तथा केन्द्रीय नेताहरु कुनै पनि हालतमा महानगरपालिका कांग्रेसले माओवादीलाई छाड्न नहुने बरु कांग्रेस एक्लै निर्वाचनमा गएर जित्ने बताउँदै आएका छन् ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्दै छ । भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै जिल्ला तथा केन्द्रीय नेता पार्टी शीर्ष नेतालाई भेट्न काठमाडौंबाट फर्किए लगत्तै कांग्रेसबाट मेयरमा आकांक्षीहरुले मनोनयन दर्ता गर्ने काम सुरु भएको हो ।