७ बैशाख २०८१, शुक्रबार

मन्त्रिमण्डल पुनर्गठन सुदूरपश्चिममा, काँग्रेस सरकारमा सहभागी

sudur

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ ।

मुख्यमन्त्री भट्टले नेपाली काँग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका एक मन्त्री र दुई राज्य मन्त्री नियुक्त गरी मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।

मुख्यमन्त्री भट्टले नेपाली काँग्रेसका डा.रणबहादुर रावललाई आन्तरिक मामिला तथा कानुन मन्त्री र गोविन्द बोहरालाई सामाजिक विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका प्रकाश बहादुर रावललाई आर्थिक मामिला मन्त्रीमा नियुक्त गर्नुभएको छ ।

मुख्यमन्त्री भट्टले काँग्रेसका टेक बहादुर रैकालाई सामाजिक विकास राज्यमन्त्री, एकीकृत समाजवादीका कुलवीर चौधरीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री र अमरबहादुर साउदलाई आर्थिक मामिला राज्यमन्त्रीमा नियुक्त गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

योसँगै सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र काँग्रेस गरी तीन दलको सहभागिता भएको छ ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै शपथ ग्रहण गर्नुभएको छ । धनगढी स्थित प्रदेश प्रमुखको कार्यालयमा एक समारोहबिच सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले नवनियुक्त मन्त्री तथा मुख्यमन्त्री त्रिलोचन भट्टले नवनियुक्त राज्यमन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभयो ।

शपथ ग्रहण समारोहमा सभामुख अर्जुनबहादुर थापा, मन्त्री गण, सरकारी अधिकारी लगायतको सहभागिता थियो ।