७ बैशाख २०८१, शुक्रबार

पछि धकेल्ने तयारी स्थानीय चुनाव !

gathabandhan

सत्ता गठबन्धनले स्थानीय चुनावलाई पछि धकेल्ने तयारी थालेका छन् । चुनावमा गठबन्धनले तालमेल गर्ने भनेपनि समस्याहरु आउन थालेपछि गठबन्धन चुनाव धकेल्ने तयारीमा लागेका हुन् ।

विश्वस्त स्रोतका अनुसार तीनै तहको चुनाव एकैपटक कात्तिक या मंसिरमा गर्नेबारे बालुवाटारले छलफल थालेको छ । चुनाव सार्ने पक्षमा माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि देखिएका छन् ।

प्रचण्ड र माधव नेपालले विगतमा पनि स्थानीय, प्रदेश र संघीय संसदको चुनाव एकैपटक गर्नेबारे छलफल गरेका थिए । देउवा पनि यस मामलामा सकारात्मक भएको बुझिएको छ ।

गठबन्धन गरेर चुनावमा जाँदा काँग्रेसभित्र टिकट नपाउनेहरुले विद्रोह गर्ने घटना विकास हुँदै गएपछि देउवा सतर्क भएका हुन् । स्वतन्त्र या अन्य दलबाट उम्मेदवार बन्ने तयारीमा काँग्रेसका कतिपय नेता कार्यकर्ताले तयारी थालेका छन् ।

काँग्रेसभित्र उम्मेदवार बन्न नपाउनेहरुले गर्ने विद्रोहलाई सबैभन्दा बढी एमाले, राप्रपा र लोसपाले अवसरका रुपमा हेरेर बसेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली स्थानीय तहमा बलियो पकड भएका तर टिकट नपाउनेहरुलाई पार्टीमा ल्याएर टिकट दिने रणनीतिमा छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि काँग्रेसमा रहेर टिकट नपाउनेहरुलाई पार्टीमा भित्राएर टिकट दिने गरी पूर्व तयारीमा छन् । यसले काँग्रेसमा ठूलै पहिरो जाने रिपोर्टहरु बालुवाटार र सानेपामा पुग्न थालेको छ । यसकारण पनि स्थानीय चुनाव पछि धकेल्ने तयारीहरु भइरहेका छन् ।