१२ बैशाख २०८१, बुधबार

साइकोलोजिक थ्रिलर ‘षट्कोण’को टिजर सार्वजनिक

bholaraj karma

आगामी बैशाख २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘षट्कोण’को टिजर सार्वजनिक भएको छ ।

कर्मा र भोला राज सापकोटा अभिनित साइकोलोजिक थ्रिलरमा तयार पारिएको फिल्म षट्कोणको टिजरले दर्शकमाझ कौतुहलता जगाउन सफल हुने देखिन्छ ।

बुधवार सार्वजनिक भएको ५४ सेकेन्ड लम्बाईको टिजर संवादरहित छ । टिजरमा अभिनेता कर्मा एक मर्डरको अनुसन्धान गरिरहेको पत्रकारको भूमिकामा प्रस्तुत छन् ।

क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म आगामी वैशाख २३ गतेबाट देशभर प्रदर्शन हुँदैछ। कोरोना महामारी अगाडी नै निर्माण भएको फिल्मको सम्पुर्ण काम सकेर प्रदर्शनको पालो कुरेर बसेकाले अहिले समय उत्तम लागेकाले रिलिजको लागि तयार भएको निर्माण टिमको भनाई छ ।

फिल्मलाई मिलन डि काप्रिले निर्देशक गरेका हुन् । यो उनको पहिलो निर्देशकीय फिल्म हो । फिल्ममा कर्माका अलावा भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेमलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् । फिल्ममा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक काप्रि स्वयंको सम्पादन छ । फिल्मलाई ‘आरआर फिल्मस्’ले देशभर वितरण गर्नेछ । ‘षट्कोण’ले तोकेको प्रदर्शनमा मितिमा फिल्म ‘लक्का जवान’ पनि प्रदर्शन हुँदैछ । यद्यपि, दुवै फिल्म फरक जनराका हुन् ।