६ बैशाख २०८१, बिहीबार

सुर्खेतका नेपाली शान्ति सैनिक अनिल गुरुङको कंगो विद्रोही हमलामा निधन

nepal army

अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा शान्ति सैनिकका रूपमा खटिएका एक जना नेपाली सैनिकको निधन भएको छ। मंगलबार विद्रोहीको आक्रमणमा घाइते भएका ती सैनिकको उपचारका क्रममा निधन भएको हो ।

नेपाली सेनाको मुख्यालयका अनुसार प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको अपरेसन ‘बाली’काे खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि अज्ञात स्थलबाट विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत ती शान्ति सैनिक घाइते भएका थिए । त्यसलगत्तै घाइते सैनिकलाई हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

नेपाली सेनका अनुसार नेपाली शान्ति सैनिक टोलीले विद्रोहीको ‘अब्जेक्टिभ’ कब्जा गरी जमिन होल्ड गरेपछि अज्ञात स्थानबाट अचानक गरेको फायरबाट गुरुङ घाइते भएका थिए ।

नेपालका ‘श्री नेप क्यूआरएफ कम्पनी’ पहिलो डफ्फामा कार्यरत नेपाली शान्ति सैनिकको अपरेसन ‘बाली’को दौरानमा मंगलबार प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा कर्डन एन्ड सर्चको कारबाही सञ्चालन गर्दा घाइते भएका सुर्खेतका अनिल गुरुङको निधन भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जनाएका छन् । 

उक्त घटनाप्रति संयुक्त राष्ट्रसंघले निन्दा ब्यक्त गरेको छ । राष्ट्रसंघका महासचिवले एक विज्ञप्ति जारी गर्दै मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन् । शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै उनले घटनाको छानबिन गरी दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा ल्याइदिन कंगोली अधिकारीलाई आग्रह पनि गरेका छन् ।