८ बैशाख २०८१, शनिबार

मिल्ने साथीबाटै प्रतिशोधका कारण हत्या भएकाे प्रारम्भिक अनुमान

bhajpur

उदयपुरमा मङ्गलबार भएको किशोरी हत्या साथीबीच प्रतिशोधका कारण भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।एउटै विद्यालय, एउटै कक्षामा पढ्ने साथीबाट प्रतिशोधका कारण हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको हो ।

जिल्लाको बेलका नगरपालिका–६ किराँत चौककी १६ वर्षिया किशोरी कविता सुनुवारको हत्या भएको हो । एकाविहानै ट्युसन पढ्ने घरबाट हिडेकी उनी केही घण्टापछि मृत अवस्थामा भेटिएकी थिइन् ।

स्थानीयका अनुसार शरीरमा चोटपटक लागेको र विशेषगरी टाउकोमा गहिरो प्रहारभई चोट लागेको रगताम्य अवस्थामा लास फेला परेको थियो । उनको टाउकोमा ढुङ्गा र वियरको बोतल प्रयोग गरी प्रहार भएको घटनास्थलको प्रकृतिलाई उद्धृत गर्दै स्थानीयले बताएका छन् । घटनास्थल र लासको प्रकृतिबाट प्रहरी र स्थानीय किरोशीको हत्या नै भएको निचोडमा पुगेको थियो ।

“संगै पढ्ने साथी–साथीबीच प्रतिशोध साधेर गरिएको सामान्य कुटपिटको योजना हत्यासम्म पुगेको देखिएको छ ।” घटनाको प्रारम्भिक अनुसन्धानबारे इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज प्रहरी निरीक्षक तेजप्रसाद दाहालले भन्नुभयो “सत्यतथ्य भने अनुसन्धानपछिको निचोडले निर्कौल गर्नेछ ।”

घटनापछि प्रहरीले हत्याराको खोजी थालेको थियो । त्यसक्रममा संकास्पद देखिएका दुई दाजु–वहिनीलाई गाउँमै घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्यो । बेलका नपा–३ बस्ने १९ वर्षिय विनोद ढकाल र उनको काकाकी छोरी १७ वर्षिया सरिता ढकाल (खत्री) लाई पक्राउ गरेको हो । एकवर्षदेखि वहिनीकै घरमा बस्दै आएका दाजु विनोदको घर भने भारतको सिक्किम राज्य वियुङ रहेको बुझिएको छ ।

प्रनि दाहालका अनुसार पक्राउ पछि सोधपुछको क्रममा उनीहरुबाट प्रतिशोधका कारण हत्या भएको कुरा खुलेको छ । मृतक कविताले आफुलाई विभिन्न कुरामा ब्याकमेलिङ गर्ने, तनाव दिने गरेकोले त्यसैको रिस फेर्न योजना बनाई एकाविहानै फोन गरेर ट्युसन पढ्न बोलाएको र बाटैमा रोकेर दाजुसंग मिलेर कुटपिट गरेको प्रहरीलाई वयान दिएकी छिन् ।

विहान पटक–पटक मृतकसंग फोनमा कुरा भएको कुरा प्रहरीले पत्ता लगाएको छ । घटनाको एकाविहानै पक्राउ परेकी सरिताले नै मृतक कवितालाई फोन गरेर बोलाएको पत्ता लागेको छ । फोनबाट बोलाएर एकान्तमा लगेर कुटपिट गरेको र घटनाले ठूलो रुप लिने डर भएपछि दाजुवहिनीले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ ।

उनीहरु स्थानीय कोशी जनता माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत हुन् । सो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गणेश बस्नेतका अनुसार पक्राउ परेकी सरिता र मृतक कविता विद्यालय र गाउँका मिल्ने साथी थिए । साथीको नाताले ढकाल दाजु–वहिनी मतृक कविताको घरमा बाक्लै आउजाउ गर्ने गर्दथे । मृतक कविता विद्यालयकै अनुशासित, इमान्दार, मेहनती र जेहेन्दार छात्रा थिइन् । विद्यालयले विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानविन गरी अपराधीलाई कडा कारवाहीको माग गरेको छ ।

मृतक किशोरीको बुवा कृष्ण सुनुवारको तिनै साथी सरिता र उनका दाजुले छोरीको योजनाबद्ध ढङ्गले हत्या गरेको आरोप छ । घर आउने–जाने क्रममा गतिविधि संकास्पद लाग्ने गरेको सुनुवारको भनाई छ । “सानैदेखि पढाईमा मिहिनेती थिइन” बुवा कृष्णले भन्नुभयो “पढेर ठुलो मान्छे बन्छु भन्ने उनको सपना यत्तिकैमा अन्त्य भयो ।”

घटनालगत्तै प्रहरीले कानुनी अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले बताउनुभयो । घटनास्थलको सुरक्षा एवम् अनुसन्धानमा खटिएको प्रहरीले घटनापछि घरमै बसिरहेको अवस्थामा दाजुवहिनी दुबैजनालाई पक्राउ गरेको थियो ।

घटनास्थल र शबको प्रकृत्ति मुचुल्का उठाएर शब पोष्टमार्टमका लागि धरानस्थि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानबाट छिटै हत्यारा निर्कौल गर्ने प्रहरी प्रमुख एसपी बोहोराको भनाई छ ।

किशोरी हत्या घटनापछि बेलकाको रामपुर बजार क्षेत्र पुरै शोकमग्न बन्यो । हत्या घटनाले शान्ति सुरक्षामाथि प्रश्न उठाउदै स्थानीयले प्रशासन र प्रहरीविरुद्ध नाजाबाजीसहित रामपुर बजारमा प्रदर्शन गरे । घटनाको सत्यतथ्य पत्ता लगाई अपराधीलाई कार्वाहीको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालय घेराउ गरे । बिद्यार्थीहरुले बिद्यालय बन्द गराई सडक प्रदर्शन गरे । उनीहरुले आन्दोलनमार्फत सडकमा टायर बालेर छिटो अपराधी पत्ता लगाई सार्बजनिक गर्न र कारवाही गर्न प्रशासनलाई दवाव दिए ।