१६ चैत्र २०८०, शुक्रबार

‘लोकतन्त्रमा सुशासन, पारदर्शिता र जबाफदेहिता आवश्यक’

Shekhar Koirala
फाइल फोटो

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रमा सुशासन, पारदर्शिता र जबाफदेहिता आवश्यक हुने बताउनुभएको छ ।

प्रजातान्त्रिक विचार समाज कास्कीको नवौँ अधिवेशन तथा आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास विषयक गोष्ठीमा उहाँले सुशासन, पारदर्शिता र जबाफदेहिता लोकतन्त्रका आधारभूत सर्त भएको बताउनुभयो ।

आवधिक निर्वाचन, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक विकास एक अर्कासँग अन्तर सम्बन्धित रहेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि आर्थिक सुशासनसँगै उत्पादन बढाउनेतर्फ लक्षित हुनुपर्नेमा जोड दिनुभयो । देशको क्रय शक्तिले धान्ने अवस्था नरहेको उल्लेख गर्दै उहाँले १८ खर्बको व्यापार घाटा गम्भीर विषय भएको बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले जनताका मुद्दालाई सम्बोधन गर्ने गरी कांग्रेस लाग्नुपर्ने जनाउँदै प्रजातान्त्रिक विचार समाजले पार्टीले लिनुपर्ने नीति, विचार लगायतमा बहस र छलफल गराउनुपर्ने बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदार नरसिंह केसीले आर्थिक विकास भएमा प्रजातन्त्रको सुदृढीकरण हुनसक्ने उल्लेख गर्दै आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउनुभयो ।

समाजका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कुलचन्द्र वाग्लेले समाजले लोकतन्त्रको सुदृढीकरणमा वैचारिक बहससँगै प्रकाशन लगायतका काम गर्दै आएको बताउनुभयो ।