१९ बैशाख २०८१, बुधबार

कोरियाबाट फर्केर बाख्रापालनमा रमाउँदै पङ्गेनी

bakhra 1024x768 1

स्याङ्जाको वालिङ ११ ज्वाँनखोलाका ओमप्रकाश पङ्गेनी अर्जुन कोरियाबाट फर्केर व्यावसायिक बाख्रापालनमा रमाउनुभएको छ ।

८ वर्ष कोरिया र ३ वर्ष कतार गरी ११ वर्षको वैदेशिक रोजगारीलाई बिट मार्दै पङ्गेनी अहिले रेड बोयर बाख्रापालन व्यवसायमा लाग्नुभएको छ । दिलतारा बाख्रापालन उद्योगमार्फत उहाँले रेड बोयर र खरी बाख्रापालन गर्नुभएको छ ।

विगत ७ वर्षदेखि निरन्तर बाख्रा पालनमा लाग्नुभएका पङ्गेनीको फर्ममा अहिले ९० वटा बाख्राहरू छन् । उहाँको फर्ममा सत प्रतिशत बोयर साँढे २ लाखसम्मका १३ रेड बोयर बाख्राहरू छन् । वार्षिक ४० लाखको कारोबार गर्दै आउनुभएका पङ्गेनीले भन्नुभयो, ‘बाख्रापालनमा घाटा भन्ने छैन । अधिकतम मेहनत आवश्यक पर्छ ।’

कोरियाको २१ महिनाको भिसा अवधि त्यागेर बाख्रा पालनमा होमिनुभएका पङ्गेनीलाई कोरिया त्यागेको कुनै पछुतो छैन । सुरुसुरुमा कोरियाबाट फर्केर बाख्रापालनमा लाग्दा समाजको हेर्ने दृष्टि फरक भए पनि अहिले भने पङ्गेनी सम्पुर्ण युवाहरूको उदाहरण बन्नुभएको छ ।

उहाँको फर्मका बाख्राहरू बाँके, बर्दिया, मोरङ, झापा, ताप्लेजुङ तथा प्रदेश नं. ४, ५ सहित देशका अन्य जिल्लाहरूमा समेत पुगेका छन् । २ लाखबाट व्यावसायिक बाख्रा पालन सुरु गर्नुभएका पङ्गेनीले फर्ममा अहिले ७० लाख लगानी भइसकेको बताउनुभयो ।

फर्मबाट आर्जित मुनाफा समेत फर्ममै लगानी गर्नुभएका पङ्गेनीलाई प्रविधिको प्रयोग गरेर उद्यमशीलताको विकास गर्ने योजना छ । धेरै युवाहरूलाई रोजगार दिने उहाँको लक्ष्य छ ।