
प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको चुनावको मुखैमा भारत भ्रमणमा किन गएको भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले यतिसमय नगएर ठ्याक्कै चुनाव अगाडि किन जानु भयो भनेर आशंका समेत व्यक्त गर्नुभयो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार काठमाडौंमा आयोजना गरेको चुनाव केन्द्रित भेलामा बोल्दै उहाँले प्रधानमन्त्री आउनेबित्तिकै यतिबेरै किन भारत भ्रमणमा जानु भो भनेर आफूले प्रश्न सोध्ने पनि बताउनुभयो ।
त्यस अवसरमा ओलीले आगामी निर्वाचनमा पाँच दलीय सत्तारुढ गठबन्धनको चिन्ता नलिन पनि विद्यार्थी नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । पाँच दलीय गठबन्धन केजीको ढक भएको र आफ्नो पार्टी क्विन्टलको ढक भएकाले चुनावमा चिन्ता लिनुनपर्ने उहाँको तर्क थियो ।
माधव नेपालको पालामा जस्तो हार्ने बानी एमालेमा नभएको ओलीले दाबी गर्नुभयो । देश बनाउनका लागि चाहिने भएकाले पनि एमालेलाई विजय गराउने गरी निर्वाचनमा जुटन पनि उहाँले पार्टीका युवा, विद्यार्थीहरुलाई निर्देशन दिनुभयो ।