८ बैशाख २०८१, शनिबार

गाडी पहिलोपटक पुग्दा यस्तो खुसियाली

mugu gadi

मुगु जिल्लाको एक मात्र नगरपालिका छायाँनाथ राराको विकट गाउँमा पहिलो पटक गाडी पुगेको छ । यस गाउँका लागि यो अवसर कुनै उत्सवभन्दा कम रहेन ।

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाको शोभा गाउँ हो । यहाँ आज रौनक र खुसियालीको माहोल छ । स्थानीय महिला आफ्नो भेषभूषामा सजिएर नाचगान गरिरहेका छन् भने पुरुषहरु बाजा बजाउँदै गाउँ परिक्रमा गरिरहेका छन् ।

यो गाउँमा रौनक छाउनुको कारण हो पहिलो पटक गाडी पुग्नु । शोभा गाउँका बासिन्दाले पहिलो पटक आफ्नै ठाउँमा गाडी गुडेको देखे । यस अवसरलाई उनीहरुले उत्सवको रुपमा मनाए ।

यो गाउँमा सदरमुकाम गमगढीबाट ५ घण्टाको पैदल यात्रामा पुगिन्छ । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा लुम्स शोभा ग्रामिण सडकको ७ किलोमिटर सडक खुलाउन करिब १ करोड ५३ लाख रुपैयाँ खर्च भएको छ ।

गाडी पुगेपछि यहाँका महिला सुत्केरी ब्यथा लागेपछि सहजै अस्पताल जान पाइन्छ भनेर खुसी भए । गाडी पुगेपछि यहाँ कृषकहरु आफ्नो कृषि उपज बजारमा पठाउन सहज हुने आशामा छन् ।

छायाँनाथ रारा नगरपालिकाभित्र ८७ बस्ती छन् । तीमध्ये ८२ बस्तीमा सडक पुगेको छ । सडक र यातायातको सुविधाले यँहाका स्थानियलाई स्वास्थ्य साथै बजारको पहुँचमा पुर्‍याएको छ ।