१५ चैत्र २०८०, बिहीबार

आइतबारबाट प्रत्येक दिन दुई पटक रेल अप डाउन गर्ने

nepali rail

नेपालको एक मात्र जनकपुर–जयनगर ब्रोडगेज रेल्वे सेवाले आइतबारबाट यात्रुहरूलाई सेवा दिने भएको छ ।

भोलि शनिवार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्नु भएपछि आइतबारबाट सञ्चालनको तयारी गरिइएको नेपाल रेल्वे कम्पनीले जानकारी दिएको छ । अप एण्ड डाउन गरेर दुई पटक रेल सञ्चालन हुने भएको छ । बिहान साढे ८ बजे जयनगरबाट छुटेर जनकपुरधामको कुर्थासम्म आउनेछ । जयनगरबाट दुई घण्टा लगाएर कुर्था स्टेशन पुग्ने छ ।

जनकपुरधामको कुर्थाबाट पौने ११ बजे भने जयनगरका लागि रेल छुट्ने छ । सो रेल साढे १२ बजे जयनगर स्टेशनमा पुग्ने महाप्रबन्धक झाले जानकारी दिनु भयो ।

जयनगर गएको रेल पुनः ३ बजे फर्केर जनकपुरधाम आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्किने गरी रेल्वेको समय निर्धारण गरिएको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिनु भयो । जयनगर देखि जनकपुरधामको कुर्थासम्मको ३५ किलोमिटरमा यात्री सहित दिनको दुई पटक रेल चल्ने भएको छ ।

रेलको भाडा दर यस अघि नै निर्धारण भइसकेको छ । एसी बोगीको दुई सय तथा नन एसीको १ सय भाडा कायम गरिइएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो खण्डमा जयनगर देखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटर र कुर्था देखि महोत्तरीको विजलपुरा हुँदै बर्दिबाससम्मको गरेर कूल ७४ किलोमिटरमा रेल सञ्चालन हुने भएको छ ।

भारत सरकारको ५ अर्ब भारतीय रकममा निर्माण हुने रेल्वेको स्टेशन, रेल ट्र्याक सहितको संरचनाहरू महोत्तरीको विजलपुरासम्म तयारी भएपनि बर्दिबासमा जग्गा अधिग्रहणमा ढिलाइ भएकाले निर्माण हुन नसकेपनि अहिले जग्गा अधिग्रहणको काम भइरहेकाले चाडै थप निर्माण हुने भएको नेपाल रेल विभागका इन्जिनियर विनोद ओझाले जानकारी दिनु भयो ।

यता नेपाल सरकारले पनि भारतको ईर्कान कम्पनीसँग ८४ करोडमा दुई सेट रेल डेढ वर्ष अगाडी खरिद गरेका थिए । कोरोना महामारीका कारणले रेल सञ्चालन हुन सकेका थिएन ।