७ बैशाख २०८१, शुक्रबार

दैनिक अघोषित लोडसेडिङ सुरु गर्यो नेपाल विद्युत प्राधिकरणले, उद्योगीहरु मारमा

NEA

नेपाल विद्युत प्राधिकरणले दैनिक रूपमा अघोषित लोडसेडिङ सुरु गरे सँगै नेपालमा पुनः विद्युतको अभाव खड्कीन थालेको छ । विशेषगरि उद्योग हरुमा १२ देखी १४ घण्टा सम्म अघोषित लोडसेडिङ भइरहेको छ ।

जसका कारण ठुला उद्योगले उत्पादनमा ६० प्रतिशत कटौती गरेका छन् । केही वर्षअघि सम्म नेपालमा प्रत्येक दिन १६ घण्टासम्म विद्युत् काटिन्थ्या,े त्यसको झल्को अहिले पुनः देखिन थालेको छ ।

नेपालले भारतबाट बिजुली खरिद गर्न नपाउँदा केही उद्योगहरूमा दैनिक १० देखि १२ घण्टासम्म लोडसेडिङ हुन थालेको हो । नेपाल विद्युत प्राधिकरण र कार्यकारी निर्देशक कुलमान घिसिङको लोकप्रीयता घट्ने डरले सर्वसाधरणलाई भने लोडसेडिङको भान पर्न दिइएको छैन ।

तर, कोरोना पछि उत्पादन घटेर मारमा परेका उद्योग कलकारखानामा भने १२ देखी १४ घण्टा सम्म लोडसेडीङ गर्न थालीएको छ । भारतबाट विद्युत् यथेष्ट मात्रामा नआएपछि ३३ केभीएदेखि १३२ केभीएसम्मका प्रसारणलाईनमार्फत विद्युत् खपत गर्ने केही ठूला उद्योगहरूमा हरेक दिन बेलुका ६ बजेदेखि १२ घण्टाका लागि लोडसेडिङ हुन थालेको छ ।

सामान्यतया नेपालले भारु ६.१८ देखि ६.६८ मा भारतबाट ऊर्जा खरिद गर्ने गरेको थियो । तर विद्युत्को मूल्य आकासिएपछि भने भारु १२ देखि १८ मा प्रतियुनिट बिजुली भारतीय ऊर्जा एक्सचेन्ज मार्केटबाट खरिद गर्ने गरिएको छ । सामान्य अवस्थामा किन्नेभन्दा चार गुणा मूल्य तिरेर बिजुली खरिद गर्दा प्राधिकरणलाई दैनिक २२ करोडसम्म घाटा लाग्न थालेको छ ।

पछिल्ला केही वर्षमा नेपालमा लोडसेडिङ निकै कम भए पनि सर्वसाधारणहरूमा दैनिक १८ घण्टासम्म बिना ऊर्जा बस्नुपरेको स्मरण ताजै छ । त्यसै कारण सर्वसाधारणमा लोडसेडिङको चिन्ता व्याप्त रहेको पाइन्छ ।

नेपालको ऊर्जा उत्पादन जलविद्युत्मा निर्भर रहेको र जलाशययुक्त आयोजनाको कमी रहेका कारण लामो समय यस्तो अवस्था भोग्नुपर्ने हुनसक्ने विज्ञहरू बताउँछन् ।

हिउँदमा नेपालमा क्षमताको ३० देखि ४० प्रतिशत मात्र बिजुली उत्पादन हुने गरेको तर त्यो समय नेपाल र भारत दुवैतर्फ उच्च विद्युत् माग हुने गरेकाले पनि ऊर्जा अभावबाट जोगिनका लागि मिश्रित ऊर्जा प्रणालीतर्फ ध्यान केन्द्रित गरिनुपर्ने उनीहरूको सुझाव छ ।

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक भएर आउनु अघिका प्राधिकरणका नेतृत्वकर्ताले सर्वसाधारणलाई बिजुली काटेर उद्दोगलाई दिइहरेका थिए ।

घिसिङले यसको ठिक विपरित गर्दा उनी हाइ हाई भए । कुलमानले नै लोडसेडिङ अन्त गरेको सन्देश गयो । तर, वास्तवरमा नेपालको ऊर्जा क्षेत्र भारतसँग निर्भर रहेको खुलस्त भएको छ ।

अहिले विद्युत कटौती भई उत्पादन घट्दा फलामे छड, सिमेन्टलगायत सामाग्रीको मूल्य वृद्धि भएको छ । निर्माण सामाग्रीको अत्याधिक मूल्यवृद्धि खाद्य सामाग्रीहरुमा पनि असर परेको छ ।